आइसीसी विश्वकप क्रिकेट लिग–२: नेपाल स्कटल्याण्डसँग पराजित


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७९ मा प्रकाशित




आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

स्कटल्याण्डको जीतमा क्रिस्टोफर म्याकब्रिडले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाए। त्यस्तै, कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहे। नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए भने सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए।

ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए। क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए। विभिन्न ७ टोली सहभागी विश्वकप लिग–२ मा जीतसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल भने २४ खेलमा १८ अंकसहित छैटौँ स्थानमा छ।

प्रतियोगितामा नेपालले नामिबियाविरुद्धको पहिलो खेल वर्षा बाधक बन्दा अंक बाँडेको थियो। दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेट तथा तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।