प्रवासीको सहयोगमा पदमार्ग


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७९ मा प्रकाशित




बागलुङ । प्रवासीको सहयोगमा बागलुङको काठेखोला गाउँपालिका–५ स्थित धार्मिक पर्यटकीयस्थल रामकोटधाममा पदमार्ग निर्माण गरिएको छ । वडा नं ६ शान्तिचोकदेखि त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने गरी सात सय २५ मिटर लामो पदमार्ग बनाइएको हो ।

पदमार्गका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक सहयोग जुटाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताए ।

जापानमा रहेका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलाइएको थियो । पदमार्गमा प्रवेशद्वार, रेलिङ, विश्रामस्थललगायतका काम छिट्टै सुरु गरिने समितिले जनाएको छ । रु २५ लाख बजेट भएमा बाँकी संरचना निर्माणले पूर्णता पाउने अध्यक्ष कँडेलले बताए । पदमार्ग बनाउन विदेशमा रहेका नेपालीबाट ठूलो सहयोग भित्रिए पनि राज्यका निकायको लगानी भने न्यून छ ।

पदमार्गमा गाउँपालिकाको रु तीन लाख बजेट परेको छ । यस वर्ष नाली निर्माणका लागि रु ७५ हजार मात्र छुट्याइएको जनाइएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रु छ लाख बजेट पनि पदमार्गमा खर्च भएको छ । चालु आवमा प्रदेश सरकारबाट रेलिङ निर्माणका लागि रु पाँच लाख बजेट आएको समितिले जनाएको छ ।

उक्त बजेटबाट झण्डै आधाजति दूरीमा रेलिङ राखिने भएको छ । पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि अघि बढाइने भएको छ । सो योजनाका लागि पनि प्रवासीबाट थप सहयोग जुटाउन पहल भइरहेको छ । दुवै योजनामा झण्डै रु डेढ करोड लाग्ने अनुमान छ ।

पदमार्ग बनाउँदा ताराखोलाको स्लेट ढुङ्गासहित स्थानीय स्रोत र सीपको प्रयोग गरिएको छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनेको वडा नं ५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । पदमार्गको दायाँबायाँ वरपिपल, स्वामीलगायत धार्मिक महत्वका बोटवृक्ष लगाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।