बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी कोरिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुन: अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा १ किलोमिटर सडक मात्र कालोपत्र गरिएको थियो ।
जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी कोेरिडोर) सडक कालोपत्रका लागि रू. २ करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । कुश्मीसेरादेखि जैमिनीधामसम्मको ३ किलोमिटर सडकमध्ये २ किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो । ३ वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो ।
सडक कालोपत्रका लागि यसअघि रू. ८ करोडको लागत अनुमान गरिएको थियो । पहिला २ वर्षमा रू. १ करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष रू. २ करोड ७० लाख खर्च भएको थियो । कोरोना महामारी, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो । संघीय सरकारले एउटै योजनामा ३ वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताए ।
‘कोरिडोर कालोपत्र हुने चरणमा छ, कोेरिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्र गर्दा जैमिनीको लाइफलाइन बन्छ,’ शर्माले भने, ‘हामीले संघ र प्रदेशसँग समेत बजेट माग गरेका छौं, अब पुरानो होइन, नयाँ डीपीआर गरेर बाँकी खण्डको काम कालोपत्र गर्छौं ।’ ७ मिटर चौडाइ सडक, नाली र २ किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रका लागि रू. ५ करोड लागत अनुमान भए पनि अपुग हुने रकम प्रदेश र संघीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







