आफूले अक्षर चिनेको विद्यालयको हीरक जयन्तीमा सहभागि हुन प्रचण्ड पोखरा आउने


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र


पोखरा । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा आउने भएका छन् । आफूले अक्षर चिनेको कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक जयन्ती विशेष समारोहमा सहभागि हुन प्रचण्ड पोखरा आउन लागेका हुन् ।

महेन्द्र आधारभुत विद्यालय दुई पटक प्रधानमन्त्री बनेका प्रचण्डले अक्षर चिनेको विद्यालय हो । प्रचण्डले महेन्द्र आधारभुत विद्यालयमा शिशु कक्षा र कक्षा १ मा अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक ढकराज सुवेदीले जानकारी दिए । ‘उहाँले २०÷१७ सालमा दुई वर्ष यहि विद्यालयमा अध्ययन गर्नु भएको हो’–उनले भने । विद्यालय प्रचण्डको जन्मघर अन्नपूर्ण गाउँपालिकाको लेवाडेबाट नजिकै पर्छ ।

विद्यालयको हीरक जयन्ती विशेष समारोह यहि मंसिर २८ गते बुधबार विद्यालय प्राङ्गणमै आयोजना हुँदैछ । सो कार्यक्रममा सहभागि हुन प्रचण्ड मंसिर २७ गते नै पोखरा आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपती दाहालले जानकारी दिए । उनका अनुसार प्रचण्ड मंगलबार पोखरा आएर बस्नेछन् भने भोलिपल्ट बुधबार पूर्वाह्न ११ बजेपछि हीरक जयन्ती विशेष समारोहमा सहभागि हुन अन्नपूर्ण गाउँपालिका पुग्नेछन् ।

विद्यालयले हीरक जयन्ती साप्ताहिक रुपमा मनाईरहेको छ । मंसिर २२ गतेदेखि शुरु भएको हिरक जयन्ती मंसिर २८ गते समापन हुने विद्यालयले जनाएको छ । हीरक जयन्तीको अवसरमा विद्यालय स्तरिय सांस्कृतिक, खेलकुदलगायतका कार्यक्रम भईरहेका छन् । समापन समारोहमा बिजेताहरुलाई पुरस्कार वितरण गर्नुका साथै हीरक जयन्तीको अवसरमा सहयोग दाताहरुलाई सम्मान गरिने हीरक जयन्ती अर्थ समितिका संयोजक लोकराज भण्डारीले जानकारी दिए ।

हीरक जयन्ती मनाईरहेको महेन्द्र आधारभुत विद्यालय नमुना विद्यालयका रुपमा स्थापित छ । ७ वर्षअघि ८ जना मात्र विद्यार्थी भएपछि बन्द हुने अवस्थामा पुगेको यो विद्यालयमा स्थानिय सनराईज बोर्डिङ स्कुल नै गाभिएको थियो । शैक्षिक गुणस्तर सुधारेपछि बोर्डिङ स्कुलका विद्यार्थी भटाभट विद्यालयमा भर्ना हुन थालेपछि बोर्डिङ स्कुलले आफ्नो सम्पूर्ण भौतिक सामग्री विद्यालयलाई बेचेको थियो भने शिक्षकहरुलाई पनि विद्यालयमा जागिर दिने सम्झौता गरेर बोर्डिङ स्कुल नै विद्यालयमा समायोजन गरेको थियो । हाल सो विद्यालयमा १२७ जना विद्यार्थी अध्ययनरत छन् ।

२०१६ सालमा स्थापना भएको सो विद्यालयमा हाल ८ जना शिक्षक÷शिक्षिकाले अध्यापन गराउँदै आएका छन् । जसमा ५ जनाको दरबन्दी छ भने बाँकी ३ जना विद्यालयले नीजि श्रोतबाट राखेको छ । नीजि श्रोतबाट राखिएका शिक्षक, कर्मचारीलाई तलब खुवाउनेलगायतका खर्च व्यवस्थापनका लागि एक करोडको कोष बनाउने गरी अर्थ संकलन गर्ने कार्य भईरहेको आर्थिक व्यवस्थापन समितिका संयोजक भण्डारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।