चीनमा मानिसहरूको गतिविधि पत्ता लगाउने एप बन्द हुने


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७९ मा प्रकाशित




चीन सरकारले कोरोना महामारीको दौरान मानिसहरूको गतिविधि पत्ता लगाउने ‘फोन एप’लाई निष्क्रिय पार्ने घोषणा गरेको छ।
सोमबार मध्यरातिदेखि ३ वर्षदेखि संचालनमा रहेको ‘द नेसनल एप’ अफलाइनमा जाने बताइएको छ।

यो चीन सरकारको कोभिड–१९ सम्बन्धी पछिल्लो नीतिगत परिवर्तन हो। यसबाट बेइजिङले विवादास्पद ‘शून्य कोभिड नीति’ छोड्न लागेको संकेत दिएको छ।

तर, चीनका थुप्रै सहरमा यस्तै प्रकृतिका स्थानीय एपहरू अझै संचालित छन्।

सरकारद्वारा संचालित एपबाट कसैले उच्च जोखिमयुक्त क्षेत्रको भ्रमण त गरेको छैन भनेर पत्ता लगाउने गरिन्थ्यो।

मानिसहरूले विभिन्न प्रान्त घुम्न वा कार्यक्रममा सहभागी हुन अनुमति स्वरूप ‘हरिया तीर’ प्राप्त गर्न सो एपमा आफ्नो फोन नम्बर राख्नुपथ्र्यो । अहिले एक प्रान्तबाट अर्को प्रान्त जना लगाइएको बन्देज पनि हटिसकेको छ।

चीनका अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो एपलाई बिदा दिइएकोमा स्वागत गरेका छन्। लामो समयदेखि सरकारले कोरोनालाई लिएर तय गरेका कडा नीति नियमहरूका कारण नोभेम्बरमा पश्चिमी सिन्जियाङ क्षेत्रको एउटा अग्लो भवनमा आगलागीबाट १० जना मानिसको ज्यान गएपछि जनविरोध सुरु भएको थियो।

चीनमा आइतबार मुलुकभर ८ हजार ६२६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।