फिफा विश्वकप : अर्जेन्टिना फाइनलमा


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




विश्व फुटबल महारथी अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

साबिक उपविजेता क्रोएसियामाथि शानदार जितसहित २ पटकको विश्वकप विजेता अर्जेन्टिना फाइनल पुगेको हो।

कतारस्थित लुसैल स्टेडियममा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो।

कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेज चम्किदाँ अर्जेन्टिनाले कतार विश्वकप फुटबलको सहजै फाइनल यात्रा तय गर्‍यो।
अर्जेन्टिनाको जितमा मेस्सीले १ र अल्भारेजले २ गोलको योगदान गरे।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। जसमा मेस्सीले सहजै गोल गर्दै अर्जेन्टिनियन टोलीलाई अग्रता दिलाए।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो। मेस्सीले पूर्व अर्जेन्टिनियन खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन्।

मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् । मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।

त्यस्तै खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए।

काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे।

त्यस्तै, ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा जित निश्चित गराए। मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा अल्भारेजले सहजै गोल गरे।

त्यसपछि, खेलमा थप गोल हुन नसकेपछि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो।

अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ। यो उसको लगातार तेह्रौं विश्वकप हो। २ पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।

विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको साथमा भने उसले विश्वकप जित्न सकेको छैन। कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुने पक्कापक्की जस्तै छ।

पछिल्लोपटक ३६ खेलसम्म अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग अनपेक्षित हार हुँदा कीर्तिमानबाट चुकेको थियो। तर, त्यसपछिका खेलमा अर्जेन्टिनाले लगातार सुधार गरिरहेको छ।

पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो। १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थपेको थियो।

१९९० पछि भने अर्जेन्टिना दोस्रोपटक फाइनलमा पुगेको हो। त्यसलगतै, फेरि फाइनलमा पुगे पनि साविक उपविजेता जर्मनीसँग हारेको थियो।

त्यसपछि २०१४ मा विश्वकपमा स्थान बनायो। तर, पूरानै प्रतिस्पर्धी जर्मनीले उपाधि यात्रामा अर्जेन्टिनालाई स्तब्ध बनायो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।