देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष प्रचण्ड


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आएको बताएका छन् । आफूले अक्षर शुभारम्भ गरेको कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नागडाँडास्थित महेन्द्र आधारभुत विद्यालयको हीरक जयन्ती समापन समारोह समितिलाई सम्बोधन गर्दै उनले आफूलाई देशको नेतृत्व गर्ने अवसर आएको बताएका हुन् । आफ्नो जन्मथलोमा आफन्त तथा आफूलाई अक्षरारम्भ गराउने गुरुहरुका अगाडि भावुक बनेका प्रचण्डले प्रधानमन्त्री शब्द प्रयोग नगरी भने,‘धेरै समय छैन मसँग, तर तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू तेश्रोपटक प्रधानमन्त्री बनेमा अविस्मरणीय कार्य गर्ने बताए । आफ्नो बाँकी जीवन सुशासन र विकासका लागि समर्पण गर्ने बताउँदै उनले भने,‘मेरो पहिलो प्रधानमन्त्री कार्यकाल विधि र प्रक्रिया बुझ्दा बुझ्दै गयो, दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकतावद्ध गरेँ, केहि आर्थिक विकासका सुचकांकमा सुधार ल्याउनपनि भूमिका खेलेँ, अब तेश्रो पटक देशको नेतृत्व गर्ने अवसर पाएँ भने अविश्मरणीय विकासका योजना अघि बढाएर ऐतिहासिक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रचण्डले आफू फेरी एकपटक देशको नेतृत्व गर्ने स्थानमा पुगेमा भ्रष्टाचारबिरुद्ध कडा कदम चाल्ने बताए । देशको विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताउँदै उनले थपे,‘यसका लागि २०४७ सालपछि कार्यकारी पदमा पुगेकाहरुको सम्पती छानविन गर्ने र भ्रष्टाचार गरेको ठहरिए कारवाहीको दायरामा ल्याईनेछ ।’ उनले सुशासनमा क्रान्ति ल्याएपछि मात्रै विकास र समृद्धि आउने बताए । ‘नत्र राजनीतिक क्रान्तिको औचित्य रहँदैन’–उनले भने ।

प्रचण्डले आगामी चुनावमा आफू कास्कीबाट उम्मेदवार बन्नसक्ने बताए । आफ्नो गृहजिल्ला कास्की र गृहगाउँ अन्नपूर्ण भनेपछि आफू हुरुक्कै हुनेगरेको बताउँदै उनले भने,‘म पहिलोपटक रोल्पा र काठमाडौंबाट उम्मेदवार बनेँ, दोश्रोपटक सिराहा, तेश्रोपटक चितवन र अहिले चौथोपटक गोरखाबाट उम्मेदवार बनेँ, के थाहा ? आगामी चुनावमा कास्कीबाट पो हुनसक्छ ।’ आफू अझै ८÷१० वर्ष सकृय राजनीतिमा रहने घोषणा गरेका उनले कास्कीबाटै चुनाव लड्ने घोषणा भने गरेनन् ।

प्रचण्डले हालै सम्पन्न चुनावले दलहरुलाई चुनौति र अवसर दुबै सिर्जना गरेर गएको बताए । दलहरुले विकास र समृद्धितर्फ लैजान प्रभावकारी भूमिका खेल्नुपर्ने चुनौतिका रुपमा आएको बताउँदै उनले भने,‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो अभियान सुरु गर्न सकेनौं भने आउने दिन चुनौतीपूर्ण हुनेछ ।’

कार्यक्रममा प्रचण्डले आफूलाई अक्षरारम्भ गराउने महेन्द्र आधारभुत विद्यालयका संस्थापक प्रधानाध्यापक अनन्तराज सुवेदीलाई दोषल्ला ओढाएर सम्मान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।