समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने


     एभरेस्ट आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित





नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ ।

माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरे । निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ । 

संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उनको भनाइ छ ।  गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।