पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव


     एभरेस्ट आवाज    
     पौष २ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरे ।

“जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ”, उनले भने, “यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ ।” उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे । पूर्व राष्ट्रपति यादवले विश्व परिवेषलाई ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “ताइवानमा तीन लाख नेपाली छन् । त्यहाँको आन्दोलनमा के भइरहेको छ रु यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका सङ्घ–सङ्गठनले केही बोल्ने हो कि ?”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारणसभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए । “पत्रकारिताभित्र श्रमको उचित मूल्याङ्कन हुनसकेको छैन । सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ”, उनले बताए ।

महासङ्घका प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।