पोखरा । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ । प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो । हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन् । संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसीले दाबी प्रस्तुत गरेका हुन् ।
कांग्रेसको गण्डकीमा कुल २७ सांसद छन् । १८ क्षेत्रमा प्रत्यक्ष जितेको कांग्रेसले समानुपातिकमा ९ सांसद पाएर २७ पु¥याएको हो । जसमा संस्थापन पक्षका १३ सांसद छन् भने संस्थापन ईतर समूहका १४ सांसद रहेको दाबी छ ।
संस्थापन पक्षका पाण्डे गोरखा २ (२)बाट निर्वाचित सांसद हुन् भने संस्थापन ईतरका जिसी नवलपरासी (नवलपुर सुस्ता पूर्व) १(१)बाट निर्वाचित सांसद हुन् । त्यस्तै संस्थापन पक्षका थापा –कास्की २ (२) तथा संस्थापन ईतरका अर्याल स्याङ्जा १ (२) बाट निर्वाचित सांसद हुन् ।
संसदीय दलको नेताका आकांक्षी मध्ये पाण्डे र थापा संस्थापन पक्ष (देउवा समूह) र अर्याल र जिसी संस्थापन ईतर (पौडेल समूह)का हुन् । दुबै समूहबाट आकांक्षी दुई/दुई जना भएपछि संसदीय दलको नेता चयन प्रक्रिया जटिल बन्ने देखिएको छ । यद्वपी दुबै समूहले आ–आफ्नो समूहमा सर्वसम्मत बनाउने प्रयास जारी राखेका छन् ।
प्रतिष्पर्धी धेरै देखिएपनि अन्त्यमा पाण्डे र जिसीबीच प्रतिष्पर्धा हुने कांग्रेस निकट श्रोत बताउँछ । पाण्डे देउवाका विश्वास पात्र हुन् भने जिसी पौडेलका विश्वास पात्र हुन् । देउवा पक्षबाट पाण्डे सर्वसम्मत हुने भनिएपनि थापाले दाबी छाडेका छैनन् । थापा प्रधानमन्त्री पत्नी आरजु देउवाका विश्वास पात्र हुन् । टिकटपनि उनैले दिलाएको र मुख्यमन्त्री बनाउने आश्वासन दिएको थापा निकट श्रोतको दाबी छ । यद्वपी कांग्रेसमा पाण्डे प्रभावशाली नेता मानिन्छन् भने उनलाई देउवाले मुख्यमन्त्री बनाउने आश्वासन दिएरै प्रदेश सभा सदस्यमा कन्भिन्स गरेर पठाएको श्रोत बताउँछ ।
अघिल्लो पटक नै मुख्यमन्त्री दाबी गरेका थापा पछि कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बनेका थिए । तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुमार खड्कालाई जिल्याएर केहि अघि सम्पन्न चुनावमा टिकट ल्याउन सफल थापाले यसपटक आफ्नो अन्तिम कार्यकाल भनेकाले उनी जसरीपनि मुख्यमन्त्री बन्न कस्सिएका छन् । तर संस्थापन पक्ष निकट श्रोत भने थापाले मुख्यमन्त्री दाबी गरेर पछि प्रभावशाली मन्त्री पाउने शर्तमा पाण्डेलाई सघाउने बताउँछ । मन्त्री थापा भन्छन्,‘म मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुँ, सरकार चलाउने अनुभवपनि भएकाले मलाई सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’
संस्थापन ईतरका जिसीपनि प्रभावशाली नेता हुन् । पौडेल समूहका उनी नेपाली कांग्रेस नवलपुरका सभापतिसमेत हुन् । जिसीले आफ्नो पक्षको बहुमत भएकाले आफू नै संसदीय दलको नेता बन्ने दाबी गरेका छन् । उनी भन्छन्,‘शुक्रराज शर्मा दाई आउनु भएको भए अर्कै हुन्थ्यो, उहाँपछि त म नै हो संसदीय दलको नेता । किनकी मेरो पक्षमा बहुमत छ ।’
तर संस्थापन पक्ष भने संस्थापन ईतरमा बहुमत नभएको दाबी गर्छ । संस्थापन निकट श्रोत भन्छ,‘निर्वाचन नभएसम्म कसको बहुमत छ भनेर कसले भन्ने सक्छ र ? भोलि प्रतिष्पर्धामा गएपछि थाहा भईहाल्छ नि कता बहुमत छ भनेर ।’ उक्त श्रोतका अनुसार ईतर पक्षका सांसद चोरेर बहुमत पु¥याउने पक्षमा संस्थापन पक्ष छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







