आहा ! रारा पोखरा गोल्डकपलाई चरक मेमोरियल हस्पिटलको साथ


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित




पोखरा । २२ औं आहा ! रारा पोखरा गोल्डकपमा चरक मेमोरियल हस्पिटलले सह उप–प्रायोजन गर्ने भएको छ ।

सहारा क्लव पोखराको आयोजनामा यही पुस १४ गतेबाट सञ्चालन हुने मोफसलकै उत्कृष्ट आहा ! रारा पोखरा गोल्डकपमा पोखरा ८ नागढुंगामा अविस्थत चरक मेमोरियल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रतियोगितालाई सफल बनाउ सह उपप्रयोजन गर्ने समझदारी भएको हो ।

मंगलबार आयोजक क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ र हस्पिटलका निर्देशक कपिल पोखरेलले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार प्रतियोगिता सफल बनाउन हस्पिटलले क्लवलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने छ । यस्तै हस्पिटलले प्रतियोगिता अवधीभर पोखरा रंगशालामा खेल हेर्ने दर्शक मध्यबाट गोला प्रथा मार्फत ३ जना दर्शकको निःशूल्क फुल बडी चेकजाँच गर्ने, प्रतियोगिताको अन्तिम खेलमा टिकट काटेर खेल हेरेका दर्शकलाई अर्धकट्टीसहित आएमा हस्पिटलले सबै खालका चेकजाँचमा चिकित्सक शूल्क निःशूल्क गराउने लगायतका सहमती भएको क्लवले जनाएको छ ।

सो कार्यक्रममा सहारा क्लव पोखराका पूर्व अध्यक्ष विक्रम थकाली, क्लवका महासचिव रामजी प्रसाद अधिकारी अधिवक्ता केशवराज बराल लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिता “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका पौष १४ गते देखी पौष २३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुँदै छ ।

प्रतियोगितामा आयोजक सहारा क्लवसहित सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लव, मनाङ मस्र्याङ्दी क्लव, नेपाल प्रहरी फुटबल क्लव, त्रिभूवन आर्मी क्लव, मछिन्द्र क्लव, संकटा क्लव, चर्च व्याइज यूनाइटेड फुटबल क्लव, अमेरिकाको भुटनिज यूथ फुटबल क्लव (बीवाईएससी),, धरान फुटबल क्लवले सहभागिता जनाउने आयोजक सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।