पोखराको रानीवन आर्किडमा भोलिदेखि प्रदेश पक्वान मेला हुँदै


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित




पोखरा, पुस ७

पोखरामा भोलिदेखि प्रदेश पक्वान मेला शुरु हुने भएको छ । तमु ल्होसार, क्रिसमस डे र अंग्रेजी नया वर्षको अवसर पारेर पोखराको लेकसाईडस्थित रानीवन आर्किडमा प्रदेश पक्वान मेला आयोजना हुने भएको हो । रानीवन आर्किडको ४५ औं वार्षिकोत्सवको अवसरमा भोलिदेखि शुरु हुने मेला अंग्रेजी नया वर्षको पहिलो दिन पुस १७ गतेसम्म आयोजना हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

मेलामा सातै प्रदेशका लोकप्रिय खानाका परिकारहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने होटल रानीवन आर्किडका सञ्चालक हरि भुजेलले जानकारी दिए । उनका अनुसार मेलामा प्रदेश नम्बर १ को लोकप्रिय कालो सुंगुरका विभिन्न परिकारहरु पोर्क, साफ्टा, भक्का, मधेश प्रदेशको घोँघी, जलकपुरलगायतका माछाका विभिन्न परिकारहरु, वागमती प्रदेशको राँगाको सुकुटीलगायतका परिकारहरु, खल्पीको अचार प्रदर्शनी तथा बिक्रीका लागि राखिने उनले बताए ।

भुजेलका अनुसार गण्डकी प्रदेशको च्याङ्ग्राको मासु, च्याङ्ग्राको रगतको पकौडा, सुकुटी, लुम्विनी प्रदेशको साँधेको सुन्तला, गुल्मीको चाकु, सुदूरपश्चिम प्रदेशको हाँसको परिकार तथा कर्णाली प्रदेशको खसीको कवाफ, शाही परिवारले खाने खसीको ग्रेभीलगायतका परिकारहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ ।

मेलामा अन्य आकर्षणका रुपमा जेरीको आईसक्रिम र सयपत्री फुलको आईसक्रिमको स्वादपनि लिन पाउने पाक शास्त्री (सेफ) सन्दीप खत्रीले जानकारी दिए ।

मेलामा राखिएका परिकारहरुको स्वाद लिनका लागि ग्राहकले परिकार हेरेर ८९ रुपैयाँदेखि ५ सयसम्म तिर्नुपर्ने हुन्छ । ग्राहकले करीब ३ सय रुपैयाँमा आफू अघाउने गरी परिकारको स्वाद लिन पाउने भुजेलले बताए ।

मेलाको हरेक दिन स्पेशल अफर राखिएको छ । जस अनुसार पहिलो दिन पुस ८ गते एनिभर्सरी विशेष अफर, पुस ९ गते क्रिसमस ईभ अफर, पुस १० र ११ गते स्ट्रिट फुडको स्वादसहित लाईभ बिबिक्यू अफर रहेको सञ्चालक भुजेलले जानकारी दिए । त्यस्तै, पुस १२, १३ र १४ गते स्ट्रिट फुडको मज्जा, पुस १५ गते तमु ल्होसारको अवसरमा लक्ष्य व्याण्डलगायतको प्रस्तुती, पुस १६ गते न्यू ईयर ईभ काउन्ट डाउन पार्टी र पुस १७ गते न्यू ईयर एक्सक्लुसिभ अफर रहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।