महेन्द्र जनसहयोग आधारभुत विद्यालयको ६२ औं वार्षिकोत्सव


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७९ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको महेन्द्र जनसहयोग आधारभुत विद्यालयले ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
फेदीखोला गाउँपालिका–२ स्थानचौरमा अवस्थित विद्यालयले शुक्रबार आफ्नो ६२ औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गरे । उनले गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि प्रतिवद्ध रहेको बताए ।

उनले विद्यालयको शैक्षिक र भौतिक संरचनामा निर्माणमा पूर्व विद्यार्थी गोदार उपकारको संयोजकत्वमा जापानीज संस्था पिक एड फाउण्डेसन र नोगुचिकेन मार्फत पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले भने, ‘गरिव, मजदुर र किसानका छोराछोरी पढ्ने विद्यालयहरुलाई व्यवस्थित गर्ने सन्र्दभमा गोदार उपकारले जापानको पिक एड फाउण्डेसन र नोगुचिकेनसँग जोडिएर आर्थिक तथा भौतिक पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दछु ।’

कार्यक्रममा फेदीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङ, जिल्ला समन्वय समिति स्याङ्जा सदस्य निरमाया कार्की, वडा नं २ का वडाध्यक्ष अभिलास गुरुङ लगायतले आधुनिक भौतिक सुविधा सम्पन्न विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्दै विद्यार्थी संख्या वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यानाध्यापक तारापति सुवेदीले वार्षिक प्रतिवेदन, शिक्षिका गोदार उपमाले स्वागत र सञ्चालन पार्वती कार्कीले गरेकी थिइन् । साथै विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती राखेका थिए ।

२०१४ सालमा अनौपचारिक शिक्षा शुभारम्भ गरेको विद्यालयले २०१८ सालमा तत्कालिन राजा महेन्द्रको स्याङ्जाको नुवाकोट भ्रमणका क्रममा ३ सय रुपैयाँ अनुदानसँगै औपचारिक अनुमति पाएको थियो । कक्षा ८ सम्म अध्यापन हुँदै आएको विद्यालयमा हाल ७१ जना विद्यार्थी पढ्छन् । विद्यालयमा ८ शिक्षक र १ कार्यालय सहयोगी छन् ।

यसैविच विद्यालयले यही पुस १५ गते विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने गोदार उपकारसहितको जापानिज टोलीको स्वागत तथा विविध साप्ताहिक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गोदारले जानकारी दिए । उनले सो कार्यक्रममा सहभागि हुन विद्यार्थी, अभिभावक, जग्गादाता तथा विभिन्न सरोकारवालाहरुलाई आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।