प्रधानमन्त्रीद्वारा सिंहदरबार पुगेर गरे पदबहाली


     एभरेस्ट आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न उक्त निर्णय गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसलगत्तै उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गरे ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उहाँले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरे । त्यसलगत्तै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।