आफ्ना लागि आफैँ उत्पादनमा


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७९ मा प्रकाशित




देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् ।

विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको महासङ्घ जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । “यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारीमा खनेर तरकारी लगाउने गरेका छौँ । हामीले रासायनिक मल प्रयोग गर्दैनौँ । प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी उत्पादन गर्छौं”, घिमिरेले भने ।

आश्रममा बस्दै आएका काम गर्न सक्ने सबैले सकेको काम गरेर प्राङ्गारिक उत्पादन खाने गरेका उनी बताउछन् । यहाँका ज्येष्ठ नागरिकले बाहिरबाट सहयोगका लागि आएको खाद्यान्न, तेल, नुन, चिनीलगायत अत्यावश्यक सामग्री प्राप्त हुने गर्दछ ।

आफैँले बारीमा उत्पादन गरेको खानेकुरा धेरै मीठो हुने गरेको यहाँ आश्रित ज्येष्ठ नागरिक बताउँछन् । “हामी तरकारी र दूधमा आत्मनिर्भर छौँ । रासयनिक मलको सट्टा गाईको मल प्रयोग गरेर आफैँ खटिएर तरकारी लगाउँछौँ । तरकारी किन्नुपर्ने बाध्यता छैन”, संस्थाका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाट भन्छन् ।

अहिले बारीमा हिउँदे तरकारी प्रशस्त रहेको छ । आश्रमको स्वामित्वमा नै रहेको एक रोपनी जग्गामा खेतीपाती गर्दै आएको रानाभाट बताउनुहुन्छ । “यहाँ उत्पादित तरकारीले आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई पुग्छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन । चैत, वैशाखका लागि नयाँ तरकारीको बिरुवा रोपिएको छ । अब लहरे तरकारीको याममा रोप्नका लागि टनेल तयारी अवस्थामा रहेको छ”, उनी बताउछन् ।

यहाँ पालिएको गाईको गोबर, गहँुतको प्रयोग गरी तरकारी उत्पादन गरिएको अध्यक्ष घिमिरे बताउछन् । आश्रमको करेसाबारीमा काउली, बन्दा, भन्टा, कागती, धनियाँ, मूला, साग, ब्रोकाउलीलगायतका तरकारी प्रशस्त मात्रा फलेका छन् । तरकारीकै घाँस र कुडोले यहाँका गाई पालिएका छन् ।

आश्रममा कहिले पनि दुहुनो गाई टुट्दैन । यहाँका गाई पालनले आश्रममा आउने सहयोगदाता, भेटघाटका लागि आउने पाहुनालाई जुनसुकै समय दूध खुवाउन सकिने उनी बताउछन् । आश्रममा हाल पाँचवटा गाई छन् ।

एउटै फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन
म्याग्दे गाँउपालिका–६ धैरेनीमा नौ वर्षअघि देखि अमृत थापा र गुरुप्रसाद पौडेलद्वारा सञ्चालित लेयर्स पोल्टी फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुने गरेको छ । थापा र पौडेलले रु छ करोड बढीको लगानी त्रिदेव पोल्टी फार्म सञ्चालनमा ल्याएका हुन् ।

यस फार्मका १९ हजार लेयर्स कुखुराबाट उक्त परिमाणको अण्डा उत्पादन हुँदै आएको थापाले जानकारी दिनुभयो । फार्मबाट १९ हजार लेयर्स कुखुराले दैनिक १५ हजार उत्पादन आएको उनले बताए । उनीका अनुसार फार्ममा नौ जनाको परिवारलाई रोजगारी दिएका छन् ।

व्यवसाय सञ्चालन गर्दा मासिक रु ३५ लाख खर्च हुने थापाले बताए । “कुखुराका लागि दैनिक कम्तीमा रु एक लाख २० हजार खर्च हुन्छ । आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गरेको छु”, थापाले भने । थापाले ५३ रोपनी क्षेत्रफलको जग्गामा छवटा कुखुरा फार्म राखेर व्यवसाय गर्दै आउनुभएको छ । “फार्ममा सबैभन्दा ठूलो समस्या भनेको ढुवानी भएको छ । चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद गरिए पनि फार्मसम्म आउने बाटो राम्रो नहुँदा ढुवानीमा अधिक खर्च हुन्छ”, उनले भने ।

पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको अण्डा निर्यात हुने गरेको छ । “स्थानीय बजारमा यहाँ उत्पादित अण्डा थेग्न सक्दैन । उत्पादन गर्न सके अण्डा निर्यात र बिक्रीमा कुनै समस्या छैन”, थापाले भने । लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब चल्ला उत्पादन र अण्डा उत्पादनमा सम्पूर्ण ज्ञान पाइसकेकाले कुखुरालाई हुने समस्या समाधान आफैँले गर्दै आएको उनले बताए ।

अविनाश हाइलाइन नेपाल चितवनबाट चल्ला ल्याउने तयारीमा रहेको उनले बताए । “चल्ला हुर्काउन अत्यन्त जोखिम हुन्छ । निश्चित तापक्रम दिनुपर्दछ । यसका लागि धेरै खट्नुपर्दछ । अथक मिहेनत र परिश्रम भए तापनि यो व्यवसायमा सन्तुष्ट छु”, थापाले भने ।

फार्ममा भएको कूल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिँदै आएको छ । दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि जिल्ला बाहिरबाट व्यापारी आँउछन् । बिक्रीका लागि बजार छैन भनेर भौँतारिनुपर्ने अवस्था छैन”, उनले भने । व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै । त्योभन्दा बढी आफूलाई आत्मसन्तुष्टि मिलेको थापाको भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।