मनकामना केबलकार आजदेखि सञ्चालनमा


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७९ मा प्रकाशित




गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।

केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार सञ्चालनमा ल्याइएको उनले बताए । विद्युत् आपूर्तिमा भएको गडबडीले क्षति पुगेको केबलकारको प्यानल बोर्ड नै परिवर्तन गर्नुपरेको श्रेष्ठले बताए ।

सामान जडान गरेर परीक्षण गरेपछि केबलकार नियमित सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्ज्वल शेरचनले जानकारी दिए ।

यहीँ पुस ११ गते प्यानल बोर्डमा आगलागी भएलगत्तै पुस १२ गते मङ्गलबारदेखि मनकामना केवलकार पूर्णरूपमा बन्द भएको थियो । बन्द भएको ११ दिनपछि केबलकार सञ्चालनमा आएपछि केबलकार चढेर मनकामना मन्दिर जाने भक्तजनको घुइँचो लागेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।