पुस २६ पोखरा । पोखराका एक जना वडाध्यक्ष जातिय विभेद गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै वडा सदस्यलाई जातिय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
वडाध्यक्ष अधिकारीले आफूमाथि जातिय विभेदजन्य गालीगलौज गरेको भन्दै सोहि वडाका वडा सदस्य मैया नेपालीले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । उजुरीमा उनले वडाध्यक्ष अधिकारीले ‘तेरो परिवारको हैसियत के हो रु वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ भन्नेजस्ता जातिय विभेदजन्य गालीगलौज गरेको उल्लेख गरेकी छन् । वडा सदस्य नेपालीले आफूलाई जातिय विभेदजन्य गालीगलौज गर्ने वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गरेकी छन् ।
आफूबिरुद्ध उजुरी परेपछि वडाध्यक्ष अधिकारीले मंगलबार विहान जिल्ला प्रहरी कार्यालयमा पुगेर गिरफ्तारी दिएका हुन् । गिरफ्तारी दिएका अधिकारीलाई मंगलबार नै जिल्ला अदालत कास्कीमा उपस्थित गराएर पाँच दिन म्याद थप गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
वडाध्यक्ष अधिकारीले लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा छलफल चलिरहेका बेला आफूमाथि जातिय विभेदजन्य गालीगलौज गरेको नेपालीले गरेको उजुरीमा उल्लेख छ ।
वडाध्यक्ष अधिकारी र वडा सदस्यबीच यसअघि पनि विवाद हुने गरेको श्रोतले बताएको छ । पटक/पटक विवाद भईरहेपछि सो वडाका सबै वडा सदस्यले पोखरा महानगरका मेयर र उपमेयरलाई विवाद मिलाईदिन गुहारेका थिए । तर मेयर र उपमेयर दुबैले मिलेर काम गर्न भन्दै फर्काईदिएको श्रोतको दाबी छ । उपमेयर मञ्जुदेवी गुरुङ भने महानगरको न्यायीक समितिमा त्यस्तो उजुरी नपरेको बताउँछिन् । ‘न्यायीक समितिले जातिय विभेदसम्बन्धी मुद्धा हेर्नै मिल्दैन,‘उनले भनिन्,‘हेर्नै नमिल्ने उजुरी न्यायीक समितिमा पर्ने कुरै भएन । कसैले लिएर आएपनि दर्ता गर्ने वा छलफल गराउने कुरा हुनै सक्दैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भूतपूर्व सैनिक÷प्रहरी, बिद्यार्थी छात्र÷छात्रा, खुला महिला ÷पुरुष ५ किलोमिटर र आमा…





