अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा प्रतिभा माविका अजरलाइ स्वर्ण


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७९ मा प्रकाशित




पोखरा, पुस २७
‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन् । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण हात पारेका हुन् ।
प्रतिभा माविका निर्देशक किरण सापकोटाका अनुसार पदक विजेता गुरुङ कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थी हुन् । अन्तर्राष्ट्रिय विजनेस ओलम्पियाडमा गुरुङ सहित विभिन्न २० वटा मुलुकका विद्यार्थी सहभागि थिए । २० वटा मुलुकका ३४ समुहका १५६ जना विद्यार्थीबीच भएको प्रतिश्पर्धामा गुरुङले स्वर्ण जितेका हुन् । प्रतिश्पर्धामा ब्राजिल, क्यानडा, चीन, जर्मन, भारत, इजिप्ट लगायतका मुलुकका विद्यार्थीले भाग लिएका थिए ।
प्रतिश्पर्धामा गुरुङले चारसय अंकमा ३६८.५ अंक हात पारेका थिए । दोश्रो स्थानमा भारतका शरद गोपालकृष्णन भएका छन् । उनले ३५८ अंक पाएका छन् । त्यस्तै तेश्रो हुनेमा नेपालकै आदित सुवेदी र अनुस्का सुवेदी छन् । उनीहरुले समान ३५७ अंक पाएका छन् । उत्कृष्ट २० जनाभित्र नेपालका सातजना विद्यार्थी परेका छन् ।
‘हाम्रा विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्न सक्षम रहेको यो सहभागिता र पदकले पुष्टि गर्छ,’ सापकोटाले भने, ‘नेपाली विद्यार्थी पनि अब्बल छन् भन्ने यसले देखाएको छ । त्यसबाहेक राजधानी बाहिरका विद्यार्थीमा पनि क्षमता रहेको यसले देखाउँछ ।’ सापकोटाका अनुसार चीनमा कोरोना भाइरस संक्रमणका कारण भौतिक उपस्थितिमा प्रतिश्पर्धा हुन नसकेपछि भर्चुअल माध्यमबाट प्रतिश्पर्धा भएको थियो ।
‘नेपाली विद्यार्थीले मुलुककै नाम उच्च बनाएका छन् । नेपालमा पनि गुणस्तरीय शिक्षा अध्यापन हुने यो सहभागिता र विद्यार्थीले जितेको अवार्डबाट पुष्टि हुन्छ,’ उनले भने, ‘उत्कृष्ट २० जनामा ७ जना नेपाली विद्यार्थी परेका छन् । यो हाम्रा लागि मात्र नभई मुलुककै लागि गर्व गर्न लायक विषय हो ।’
यसअघि सन २०२० मा सम्पन्न वल्र्ड इकोनोमिक्स कपमा पनि प्रतिभा माविकै सिमा केसीले विद्यालयलाई रजत पदक दिलाएकी थिइन् । सन २०२३ का लागि पनि वल्र्ड इकोनोमिक्स कपको पहिलो चरण को क्षेत्रीय प्रतिश्पर्धामा प्रतिभा माविकै चारजना विद्यार्थी छनोट भइसकेका विद्यालयका निर्देशक सापकोटाले बताए । यसअघि प्रतिभाकै सुरती पाण्डेले पोखराबाट पहिलो पटक कक्षा १२ को बोर्ड परीक्षामा सबैभन्दा बढी अंक ल्याएर देशभरिबाटै उत्कृष्ट भएकी थिईन ।

अजर गुरुङ


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।