पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो ।
लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा सङ्ग्रहालय बनाउने योजना अघि बढाइएको हो । “घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ । उस्तै नयाँ घर बनाएर सङ्ग्रहालयमा परिणत गर्ने योजना छ”, टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवं लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भने ।
जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए । “तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको थियो”, चौधरीले भने । स्व आचार्यको घर परासीको गौरव भएकाले सङ्ग्रहालयका रुपमा परिणत गर्ने योजना अघि बढाइएको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले स्व आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए। स्व आचार्यको जन्म विसं १९६९ मा भएको थियो । उनको २०४५ सालमा निधन भएको थियो । उनी २०१२ सालमा मुलुकको प्रधानमन्त्री बनेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३…





