सेलवेज डिपार्टमेन्टल स्टोर्समा लागेको आगो पूर्ण रुपमा निभाईयो


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७९ मा प्रकाशित




पोखरा, माघ २८

पोखरा–लेकसाईडस्थित लेकसाइड सेन्टरको व्यवसायिक भवनमा आगलागी भएको छ । लेकसाईड सेन्टर भवनमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाममा आगलागी भएको हो । आगलागी भएको लेकसाईड सेन्टर भवनमा डिपार्टमेन्टल स्टोर्ससँगै बित्तीय संस्था, बैंकका एटिमहरु, लाउन्ज वार, टे«किङ सप र रेस्टुरेन्ट लगायतका व्यवसायिक संस्था छन् । तर, आगलागीले डिपार्टमेन्टल स्टोर्सको गोदाममा क्षेति पुगेको छ ।
आगलागीले भवनको अन्डरग्राउण्डमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाममा पूर्ण रुपमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ । डिपार्टमेन्टल स्टोर्स रहेको भुईंतलामा आंशिक क्षेति पुगेको छ भने त्यसभन्दा माथि रहेका तलामा भने क्षेति नपुगेको प्रहरीको भनाई छ ।
अपराह्न ४ बजे शुरु भएको आगो करीब सवा दुई घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियलगायतले वारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए । आगलागि नियन्त्रणका लागि पोखरा महानगरपालिका, पोखरा विमानस्थललगायतको ५ वटा वारुणयन्त्र र १०÷१२ वटा पानी ट्रयाङ्करसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
आगलागी भएको भवनमा नबिल बैंक, हिमालयन जाभा रेष्टुरेण्ट एण्ड लाउञ्ज वार तथा विभिन्न बैंकका एटिएमहरु रहेपनि त्यहाँ कुनै क्षेति नपुगेको प्रहरीको भनाई छ । आगलागी डिपार्टमेन्टल स्टोर्सबाट सुरु भएको अनुमान गरिएको स्थानिय पर्यटन व्यवसायी सोम थापाले बताए । तर प्रहरीले भने आगलागीको कारण पत्ता लागिनसकेको बताएको छ ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले आगलागीका कारण कति क्षेति भयो भन्ने यकीन नभएको बताए । ‘हामी क्षेतिको विवरण संकलन गरिरहेका छौं । गोदाममा पूर्ण रुपमा क्षेति पुगेको छ । सेल्स डिपार्टमा आंशिक क्षेति छ । तर यति नै क्षेति भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन’–उनले भने । उनले आईतबार विहानसम्ममा क्षेतिको पूर्ण विवरण आउने बताए ।
आगलागीका समयमा कर्मचारी तथा ग्राहकहरु भएपनि मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ । आगलागीका समयमा मानिसको ठूलो भीड लागेको थियो । आगलागी भएको क्षेत्रमा प्रहरीले जान दिएको थिएन भने भीड नियन्त्रणपनि प्रहरीले ध्यान दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।