सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति : गुरुङ


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन ७

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबै दललाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका हुन् । तर त्यस्तो व्यक्ति पछिल्लो परिवर्तन, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानप्रति प्रतिबद्ध हुनुपर्ने उनको भनाई थियो ।

महासचिव गुरुङले मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुनसक्ने खतरा रहेकाले त्यसबाट जोगिनपनि साझा राष्ट्रपति आवश्यक रहेकोमा जोड दिए । दलको कार्यकर्ता राष्ट्रपति हुँदा हिजोका दिनमा गणतन्त्र र संविधानमाथि नै खतरा उत्पन्न भएकाले अबका दिनमा त्यस्ता खतरा नदोहोरियोस् भन्नका लागि साझा व्यक्तिको खोजी गरिएको उनले जिकीर छ । ‘राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्न आवश्यक छ’–उनले भने ।

महासचिव गुरुङले राष्ट्रपति चयनमा सत्ता पक्ष र विपक्ष भनेर विभाजित हुन आवश्यक नरहेको जिकीर गरे । ‘सत्ता पक्ष र विपक्षको रुपमा परिकल्पना गरिएको प्रधानमन्त्री पदमा समेत सहमति भयो भने त्यस्तो परिकल्पना नगरिएको राष्ट्रपति पदमा सहमति हुननसक्ने कारण छ र ?’–उनले भने । उनले दलबाहेकबाट राष्ट्रपति बनाउन भने नसकिने स्पष्ट पारे । उनले भने,‘जुनसुकै दलबाट राष्ट्रपतिमा प्रस्ताव आएपनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको स्पष्ट अडान छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।