राष्ट्रपति कांग्रेसलाई दिने ८ दलको सहमति


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित




काठमाडौं । नेपाली कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति भएको छ । शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने टुंगो लागेको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले जानकारी दिए।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन । कांग्रेसले शनिबार कार्यसम्पादन बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने छ । राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रमुख आकांक्षी रहेका छन् ।

निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।

आज बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्युँत्याउने सहमति गरेको थियो । नेकपा (एमाले) ले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो । तर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।