कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी

नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहनुभएका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए । डा भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रबारबाट ठोस खाना खान सुरु गरेको डा. भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको मीनप्रसादले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।