पोखराको लोपोन्मुख संस्कृति बाघजात्रा : एक परिचर्चा – रवीन्द्र माकाजू


     रवीन्द्र माकाजू    
     वैशाख ४ गते २०८० मा प्रकाशित




पृष्ठभूमि :
पोखरा पर्यटकीय शहर मात्र होइन, सांस्कृतिक शहर पनि हो । पोखरा फेवाताल, माछापुच्छ्रे, सेती नदीको शहर मात्र पनि होइन, भैरवजात्रा, बाघजात्रा, गाईजात्रा, माघेजात्रा जस्ता जात्रा पर्वको शहर पनि हो । पोखराले आफ्नै सांस्कृतिक विशेषता बोकेको छ । यस्तै विशेषता बोकेको बाघजात्रा पोखराको आफ्नै, बेग्लै विशेषता पनि हो । तर यो जात्रा अहिले बेवारिसे बनेको छ । यसलाई आफ्नो ठान्नेहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ । यस्तो लाग्छ– कतै यो जात्रा एकादेशको कथा बन्ने त होइन ?
पोखरामा बाघजात्रा कहिले देखि शुरू भएको हो भन्ने यसको कुनै ऐतिहासिक प्रमाण भेटिँदैन । केही विद्वानहरूको मतानुसार यो नेवारहरूले नै चलाएको परम्परा हुनुपर्छ भन्ने छ । यदि नेवार समुदायले नै चलाएको मान्ने हो भने यो जात्रा पनि राष्ट्रनिर्माता पृथ्वीनारायण कै दिग्विजयसँग जोडिन पुग्छ । त्यस हिसाबले यो २५० वर्षभन्दा अघि पोखरा आइपुगेका नेवार समुदाय बाटै यो जात्रा शुरु गरिएको हुनु पर्छ वा हुन सक्छ भन्नेमा दुई मत रहँदैन ।
कसरी शुरु भयो ?
बाघजात्राको आयोजना कृषियुगसँग पोखराका केही जात्रा पर्व सम्बन्धित भएको हुनु भन्ने कुरा पुराना बुढा पाकाहरू सुनाउने गर्दछन्– पहिला पोखरा बजारको चारै तर्फ घनघोर जंगल थियो र जंगली बाघ, भालु जस्ता हिंस्रक जनावरले मानव वस्ती मा पसेर बेलाबखत जनधनको ठूलो क्षति गर्ने गर्दथे । कृषि पेशामा आवद्ध मानिसहरू बाघसँग लड्न भिड्न सक्दैनथे र स्वभावतः सहयोगका लागि राजासँग गुहार माग्नु पर्दथ्यो । साह्रै अप्ठेरो भएपछि जनताले राजासँग जंगली जनावरले दुःख दिएको बिन्ती सुनाउँथे । राजा पनि जनता लाई सहयोग गर्न आउने गर्थे । ठीक यही परिदृश्य प्रस्तुत हुने गर्छ बाघजात्रामा । राजाले आफ्ना मन्त्रीगण र सेना लिएर बाघको शिकार गर्न आएको कथनलाई नै चित्रण गर्ने गरिन्छ बाघजात्रामा ।
कसरी निकालिन्छ ?
यो बाघजात्रालाई व्यवस्थापन गर्न, निकाल्न, संरक्षण गर्न कुनै समिति गठन भएको देखिँदैन । पोखरामा पछिल्लोपटक २०५७ सालमा बाघ जात्रा प्रदर्शन भएको थियो । यो जात्रा कुनै संस्कृतिप्रेमीको पहलमा पहिला पनि टोलबासीको पहलमा निकालिने गरिन्थ्यो । तर जात्रामा कुनै आम्दानी नहुने खाली खर्च मात्र हुने हुँदा आयोजकले चन्दा, सहयोग बटुल्नुपर्ने हुन्छ । पछिल्लो समयमा यो बाघजात्राको अगुवाई गरेका संस्कृतिप्रेमी, आध्यात्मिक व्यक्तित्व जवाहरलाल श्रेष्ठका भनाई अनुसार ०५७ सालमा बाघजात्रा निकाल्दा पोखराका विभिन्न टोलले सहयोग गरेका थिए । श्रेष्ठका अनुसार त्यसबेला राजा, रानी, सेनापति टोल–टोलबाट सहभागी बनेर आउँथे । तर उनीहरुलाई घोडा उपलब्ध गराउन साह्रै गाह्रो पथ्र्यो । त्यस समस्यामा पर्यटनविद् झलक थापाले घोडा दिएर सहयोग गरेको क्षण पनि श्रेष्ठ बिर्सन सक्दैनन् । साज, शृङ्गारका वस्त्र र आभूषणहरु लगायत अभिनय सामानहरु जम्मा गर्न पनि सजिलो थिएन, तर जे होस् २०५७ सालमा सम्पन्न बाघजात्रालाई पोख्रेलीहरूले जे जसरी सहयोग गरे, मेरा लागि त्यो खुशीको दिन थियो । बाघजात्रा संयोजक श्रेष्ठले आफ्ना अनुभव सुनाए । यो जात्रा भाद्र कृष्ण प्रतिपदाबाट शुरु गरेर जन्माष्टमी भन्दा अगाडी समापन गर्ने गरिन्छ । बाघजात्रालाई पोखराका नेवार समुदायले आफ्नो जात्रा पर्वको रूपमा लिने गरेका छन् । यो जात्रा गर्दा टाढा टाढाबाट दर्शकहरू पोखरामा आउने र व्यापार व्यवसाय बढ्ने गरेको बूढापाकाहरु बताउँछन् ।

जात्रा बिधि :
बाघजात्रामा राजारानी, मन्त्रीलाई सिंगारपटार गरी सजाइन्छ । राजा घोडामा चढेको हुन्छ भने रानीलाई डोलीमा राखेर बोकाइन्छ । राजाका वरिपरि सुरक्षा गार्ड हुन्छन् । हसाँउने ख्यालीहरु हुन्छन् । मुख्य पात्रको रुपमा बाघलाई लिने गरिन्छ । बाघको छाला बोकेको अग्लो ठूलो जिउडाल भएको व्यक्ति बाघ बन्ने गर्छ । बाघ बनेका व्यक्ति सँगसँगै ४ जना शिकारी पनि हिँड्छन् । त्यसपछि हात हतियारले सुसज्जित सैनिकहरू लाइन लाग्छन् । त्यस लगत्तै मन्त्री, प्रधानमन्त्री घोडामा सवार गराइन्छ । स–साना बालकहरू हातमा धनुषकाँड बोकी लाइन लाग्छन् । विभिन्न हास्य कलाकारहरू आ–आफ्नै भेष प्रदर्शन गर्दछन् । राँगो माथि चढेका यमराज देखिन्छ । २ जना घोडचरी नाच्दै हिड्छन् । अहिले पोखरा शहर ठूलो भएकाले एकै दिन पूरा शहर घुम्न गाह्रो हुने हुँदा यो जात्रा केही दिन बिराएर प्रदर्शन गर्नु आवश्यक देखिएको छ ।
शहरका मुख्य मुख्य भाग घुमिसकेपछि जात्रा समापन गर्ने यसको छुट्टै तरीका छ । यो जात्रालाई खुल्ला चौरमा समापन गर्ने गरिन्छ । जब शिकारीहरूले चारैतिरबाट बाघलाई घेरा हाल्दछन् । बाघ बनेको व्यक्तिले बाघको छालालाई फ्याँक्दछ । त्यही मौकामा राजाले बाघको छाला माथि बन्दूक चलाउँछ अनि जनताले त्यही बाघको छालालाई हामीलाई दुःख दिने तैं हैनस् भनेर आक्रोश पोख्ने गर्दछन् । बाघ मरेको उपलक्ष्यमा जनता खुशी हुन्छन् र हर्ष बढाई गर्ने गरिन्छ र जात्रा विधिवत् समाप्त भएको घोषणा गरिन्छ । आइतबारका दिन बाघ मार्न हुन्न भन्ने चलन छ ।
बाघजात्रा निकाल्न तयारी :
यसका लागि कम्तिमा पनि एक महिनाको समय चाहिन्छ । राँगामाथी कसरी बस्ने भनेर तालीम दिइन्छ । आवश्यक घोडाहरू, हतियारहरू, बाघको छाला, प्रशासनको सहयोग, आर्थिक सहयोग, आवश्यक जनशक्ति, पोशाकको आवश्यक व्यवस्थापन गर्नुपर्छ । यसका लागि स्थानीय जनताको सहयोग र सद्भावको खाँचो पर्दछ । यो जात्रामा शहर को सीमाङ्कन गर्न घोडा चढेका रिसल्लाहरूलाई चारैतर्फ पठाइन्छ । टोलटोलमा गई बाघले दुःख दिए नदिएको बुझ्न राजाको सवारी हुँदैछ भन्ने जानकारी दिने गर्दछन् । बाघजात्रा देखाइने सीमा निर्धारण गरी रिसल्लाहरू फर्कन्छन् ।
(यस बर्ष २३ बर्षपछि आगामी भाद्र १८, १९ र २० गते निकाल्ने गरि तयारी गर्न प्रारम्भिक छलफल भई संस्कृतिकर्मी जवाहरलाल श्रेष्ठको संयोजकत्वमा भेला आयोजक तदर्थ समिति गठन गरिएको छ ।)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।