विद्यार्थीलाई प्रश्न सोध्न कसरी प्रोत्साहन गर्ने ?


     अभिषेक घिमिरे    
     जेठ २ गते २०८० मा प्रकाशित




कक्षा चारमा पढ्दै गरेको एक विद्यार्थीले शिक्षकलाई प्रश्न गर्यो, “सर, सूर्य किन पश्चिमबाट उदाउँदैन ?”
सरको पारो तातिहाल्यो झर्कदै तयारी जवाफ दिए, “किनकि सूर्य पूर्वबाट उदाउँछ । ” विद्यार्थीको जिज्ञासा मेटिएन । उसले जान्न चाहेको प्रश्नको जवाफ थिएन यो । एक छिन टाउको कन्यायो ! अनि फेरि जुरुक्क उठेर शिक्षकलाई सोधिहाल्यो, ” सर, सूर्य पूर्वबाट किन उदाउँछ?”
पढ्नु पर्ने विषय भित्र नपरेकोले ठूलो कक्षामा आफैं थाहा पाउने भन्दै शिक्षकले फेरि विद्यार्थीलाई ग्रहहरुको नाम घोक्न लगाए ।
अर्को विद्यार्थीले प्रश्न गर्यो, “सर, पृथ्वी फनफनी घुम्दा हामीलाई रिंगटा किन नलागेको ?”
विषयबस्तु भन्दा बाहिरको कुरा गरेकोले शिक्षकलाई रिस उठ्न थालिसकेको थियो । उनले दुवै जना विद्यार्थीलाई कक्षा अगाडि बोलाए । अनि ग्रहहरुको नाम सोध्न थाले । एक जनाले वृहस्पतिको नाम भन्न जानेन । अर्कोले चाहिं क्रमैसंग भन्न जानेन । पढ्न लगाएको काम राम्रोसंग नपढेर अनावश्यक कुरा सोधेको भनेर शिक्षकले दुवै जनालाई एक एक थप्पड लगाएर फेरि ग्रहहरुको नाम रट्न लगाए ।
एउटा अध्ययनले बताए अनुसार एउटा चार बर्षको बालकले एक दिनमा औसतमा ४३७ ओटा प्रश्न सोध्छ । ती सबै प्रश्न उसको मनमा भएका अन्नुत्तरित जिज्ञासाहरु हुन् । बालबालिकाहरुको मनभित्र हरेक पल कुनै न कुनै नयाँ कुरा प्रतिको जिज्ञासा उब्जिरहेको हुन्छ । दिनहुँ देखे भोगेका र सुनेका भन्दा बिल्कुल नयाँ कुराहरुमा उनीहरुको रुचि रहने गर्दछ । के ? किन ? कसरी ? कहिले? कहाँ? जस्ता प्रश्न उनीहरुको मनभित्र घुमिरहेको हुन्छ ।
त्यस्ता प्रश्नहरु उनीहरुले कहिले घरमा बाबुआमासंग, कहिले बाटोमा साथीभाई तथा आफन्तहरु संग त कहिले शिक्षकहरुसंग सोधिरहेका हुन्छन् । कुनै प्रश्न सान्दर्भिक र विषयबस्तुसंग सम्बन्धित हुन्छन् भने कुनै प्रश्न प्रसंगबिहीन र वाहियात पनि हुन्छन् ।
घरको किचनमा तरकारी काटिरहेकी आमालाई बच्चाले सोध्न सक्छ,
“आमा के गर्नु भएको?”
“तरकारी काटेको”
“किन काट्ने तरकारी?”
“पकाउनलाई”
“किन पकाउने?”
“नपकाई खायो भने पेट दुख्छ।”
“पेट किन दुख्छरु” “पेट दुख्यो भने के हुन्छ?”

यस्ता अनेकौं प्रश्न सोध्न थाले पछि आमा झर्किन थाल्छिन् ।
बालबालिकाको प्रश्न सोध्ने काइदा बेग्लै हुन्छ । उनीहरुले कहिले सामान्य प्रश्न सोध्छन र कहिलेकाहीं गहन पनि । कहिले कहीं एउटै प्रश्नको पटक पटक उत्तर दिए पनि पुग्दैन उनीहरुलाई ।


सानो छँदा मैले रेडियो भित्र बोल्ने मान्छे कस्ता हुँदा रहेछन भनेर भर्खर किनेर ल्याएको रेडियो फुटाएको थिएँ । रेडियो भित्र कस्ता मान्छे हुन्छन् भनेर पटक पटक आफूभन्दा ठूलालाई सोध्दा पनि चित्त बुझ्दो जवाफ नाअएपछि मैले त्यसो गरेको थिएँ ।
आइज्याक न्यूटन स्याउको रुखमुनि बसेर आराम गर्दै गर्दा रुखबाट झरेर टाउकोमा लागेको स्याउका कारण उनका मनमा एउटा वाहियात प्रश्नले जन्म लियो । ” रुखको स्याउ आकाशतिर नगएर किन भुईंतिर झर्यो?” यही वाहियात प्रश्नका कारण आजको आधुनिक विज्ञानले महत्वपुर्ण आविष्कार गरेको छ ।
एउटा कार्यक्रममा भेट हुँदा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मलाई भनेका थिए, तपाईं शिक्षक हो भने विद्यार्थीलाई तयारी उत्तर नदिनुहोस, तर उनीहरुलाई प्रश्न सोध्ने वातावरण निर्माण गरेर आफैंलाई उत्तर खोज्न प्रोत्साहित गर्नुहोस ।” उनको यो कुराले मलाई हप्तादिन सम्म घोत्लिन बाध्य बनाएको थियो । के वास्तवमै हामीले तयारी उत्तर लेखाइदिएर वा पिलाइदिएर विद्यार्थीको सोच्ने क्षमता र सृजनशीलता मारिरहेका छौं त ?
आज कक्षाकोठामा अधिकांश शिक्षकले विद्यार्थीलाई तयारी कुरा दिनु हुन्छ । प्रश्नको उत्तर आफैं लेखाइदिनु हुन्छ क्ष् पुस्तकमा जे लेखिएको छ, त्यसलाई हुबहु कण्ठ गर्न लगाउनु हुन्छ । शिक्षकले लेखाइदिएको उत्तर भन्दा दायाँ बायाँ बंग्याएर लेखेको उत्तरलाई मान्यता दिएको देखिदैन । दिए पनि कम अंक दिइन्छ । विद्यार्थीलाई पाठ्यक्रम भन्दा पुस्तकलाई आधार मानेर पुरै पुस्तकमै निर्भर गराइन्छ । कक्षाकोठामा छलफल, अन्तरक्रिया भन्दा शिक्षककै कुरालाई सुन्नु पर्ने बध्याता हुन्छ । कक्षाकोठा भित्रको वातावरण जीवनपर्यन्त सिकाइका लागि भन्दा पनि परीक्षाको तयारीका लागि मात्र सीमित गरिन्छ । यस्तो गतिविधिले विद्यार्थीको सिर्जनशीलतालाई पक्षघात गरिदिन्छ । पुस्तकमा लेखिएका कुरा र शिक्षकले भनेका कुरालाई बिना कुनै प्रश्न सही मानेर ग्रहण गरिरहेका हुन्छन् । किन, कसरी भनेर दोहोरो प्रश्न गर्न सक्दैनन् ।
हाम्रो स्कुलमा कुनै पनि कुरालाई आलोचनात्मक वा समालोचनात्मक ढंगबाट सोच्न सिकाइदैन । यसैको परिणाम हो हामीले झट्ट सुनेका वा सामाजिक संजालमा झट्ट देखेका कुरालाई राम्ररी नबुझी वा समालोचनात्मक अध्ययन नगरी टिप्पणी वा शेयर गर्न तम्सिहल्छौँ क्ष् कुरै नबुझी आफ्नो धारणा व्यक्त गर्न अघि बढिहाल्छौं । देखेको, सुनेको र पढेको कुरालाई किन र कसरी भयो भन्ने प्रश्न प्राय गर्दैनौं । मैले उदाहरण सानो कक्षाका विद्यार्थीको दिए पनि यो कुरा विश्वविद्यालयमा पनि समस्याकै रुपमा रहेको देखिन्छ । अझ कलेजहरुमा प्राध्यापकले सोझै नोट लेखाइदिने परिपाटीले विद्यार्थीको प्रश्न गर्ने क्षमता वा जिज्ञासालाई मारेर उनीहरुलाई परनिर्भर बनाइएको छ ।
हेलेन केलरले भनेकी छन् “शिक्षित व्यक्तिको मस्तिष्कमा जवाफ होइन, प्रश्नै प्रश्न मात्र हुन्छ । प्रत्येक कुरामा प्रश्न गर्ने बानीले नयाँ कुराको खोज र आविष्कार गर्न प्रेरित गर्दछ । हावा किन चल्छ? भोक किन लाग्छरु रुखको पात किन हरियो हुन्छ? पानी किन ओरालोतिर बग्छ? आगोले किन पोल्छ? बरफ किन चिसो हुन्छ? चराहरु कसरी आकासमा उड्छन? यस्ता अनेकन प्रश्न बालबालिकाको मनमा खेलिरहेका हुन्छन, तर कक्षाकोठाभित्र सोध्ने हिम्मत गर्दैनन् ।

विद्यार्थीलाई प्रश्न सोध्न कसरी प्रोत्साहन गर्ने ?

  • कक्षाकोठामा मनोवैज्ञानिक वातावरणलाई बालबालिकामैत्री बनाउनुहोस् । विद्यालयको वातावरणलाई दवाबरहित बनाउनुहोस् ।
  • प्रश्न गर्ने विद्यार्थीलाई सबैभन्दा पहिले धन्यवाद दिनुहोस क्ष् सार्है महत्वपुर्ण प्रश्न सोधेको भनेर साथीहरुको अगाडि प्रशंसा गर्नुहोस ।
  • प्रस्तुत विषयमा विद्यार्थीको अभिरुची जगाउन विषयसंग सम्बन्धित कुनै कविता, कथा, ग्राफरचित्र, भिडियो लगायतका श्रव्यदृश्य सामाग्री प्रदर्शन गराउनुहोस् ।
  • विद्यार्थीलाई कस्ता प्रश्न सोध्न सकिन्छ भनेर जानकारी दिनुहोस । (कहिलेकाहीं विषयवस्तुभन्दा बाहिरका प्रश्न सोधेर Distract गर्ने समस्या भएमा )
  • विद्यार्थीले प्रश्न सोधेको बेला यति पनि नजानेको रु यति पनि आउँदैनरु पढाएको बेलामा ध्यान कहाँ थियो रु जस्ता प्रश्न गरेर उनीहरूलाई लज्जीत नगर्नुहोस ।
  • विद्यार्थीले प्रश्न गर्न सक्ने निश्चित समय निर्धारण गरिदिनुहोस ।
  • बेला बेलामा केही प्रश्न छन् ? भनेर सोधिरहनुहोस ।
  • विद्यार्थीले सोधेका केही प्रश्नको जवाफ दिन अन्य विद्यार्थीलाई प्रोत्साहन गर्नुहोस । समालोचनात्मक सोचको विकासका लागि केही प्रश्न सामुहिक रुपमा विद्यार्थीलाई नै खोज्न लगाउनुहोस ।
  • नयाँ पाठ सुरु गर्नु अगाडि अनिवार्य रुपमा मस्तिष्क मन्थन गराउनुहोस् क्ष् यसले प्रस्तुत विषयवस्तुको गहिराइमा पुग्न विद्यार्थीलाई सहयोग पुग्दछ ।
  • प्रस्तुत पाठलाई बालबालिकाको वास्तविक जीवन र भोगाईसंग जोडिदिनुहोस । यसले उनीहरुलाई अध्ययनरत विषयवस्तुको अन्तर्यमा पुग्न सहयोग पुग्दछ ।
  • विद्यार्थीले सोध्न सक्ने वा न्युनतम सिकाइ उद्येश्य समेटिएको प्रश्न पत्ती निर्माण गरेर प्राय नबोल्ने वा प्रश्न नगर्ने विद्यार्थीलाई छान्न लगाउनुहोस । उक्त प्रश्न कक्षामा पढेर सुनाउन लगाउनुहोस ।

शिक्षक साथीहरुलाई अनुरोध :
कक्षाकोठाको पढाइने शैलीलाई परिवर्तन गरौँ । शिक्षकले एकोहोरो बोल्ने भन्दा पनि छलफल र सामुहिक अन्तरक्रिया गर्ने, जिज्ञासा र कौतुहलता उत्पन्न गराउने, अनि पाठ्य पुस्तकमा मात्र निर्भर बन्नुको सट्टा पाठ्यक्रम अनुसार विभिन्न पुस्तक अध्ययन गर्ने बानीको विकास गराएर सिकाईलाई बोझ होइन, रमाइलो बनाउन प्रयास गरौँ ।

(अभिषेक घिमिरे, संयोजक : वृहद राष्ट्रिय शिक्षा अभियान नेपाल)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।