पोखरा, जेठ २३
कृषि विकास बैंक र कर्मचारी मिलन केन्द्र कास्कीले कालीखोला किनारमा वृक्षारोपण गरेको छ । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय र कर्मचारी मिलन केन्द्र कास्कीले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार विहान पोखरा–१६ कालीखोला किनारमा रहेको वातावरण संरक्षण तथा पार्क सामुदायिक वनमा संयुक्त रुपमा वृक्षारोपण गरेको हो । डिभिजन वन कार्यालय कास्की र वातावरण संरक्षण तथा पार्क सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ को संयोजनमा भएको कार्यक्रममा बाँस, गोलमहोर, ज्याकराण्डा, कल्गी, म्याङ्गो स्टिन, कपुरलगायतका प्रजातीका ११० वटा विरुवा रोपिएको छ ।

कार्यक्रममा हालैमात्र सरुवा भएर आउनु भएका कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई खादा लगाएर स्वागत गर्नुका साथै वृक्षारोपण कार्यक्रममा सहभागि सम्पूर्णलाई प्लाष्टिकको झोला नबोक्न आग्रह गर्दै कपडाको झोला वितरण गरिएको थियो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वृक्षारोपण गरेपछि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । उनले भने,‘वृक्षारोपण सत्कार्य हो, संरक्षण महान कार्य हो । त्यसैले वृक्षारोपणपछि संरक्षणमा पनि उत्तिकै ध्यान दिऔं ।’ उनले हरेक औपचारिक कार्यक्रम सत्कर्मसँगै शुरुवात गर्नु सौभाग्य भएको भन्दै आफूलाईपनि त्यो अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिए । साथै उनले प्लाष्टिकको प्रयोग विश्वको चुनौतिको रुपमा रहेकाले यसलाई न्यूनिकरण गर्नका लागि आजैदेखि शुरुवात गर्न सबैलाई आग्रह गरे ।

कृषि विकास बैंकका विभागीय प्रमुख मिनराज पोखरेलले स्थापना कालदेखि नै कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत वृक्षारोपणलगायतका कार्यहरु गर्दै आएको बताए । उनले दीगो विकासमा सघाउने बैंकको मूल उद्देश्य भएकाले त्यसलाई सहयोग पुग्नेगरी उत्पादनशील विरुवा रोपिएको बताए । वृक्षारोपणपछि यसको संरक्षण गर्ने कार्यमापनि बैंकले सहयोग गर्ने उनले स्पष्ट पारे ।

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष केदार बरालले वृक्षारोपण गरिएको ठाउँलाई पर्यटकीय स्थल बनाउन सकिने बताए । तर त्यसका लागि स्थानिय जनसमुदायको भूमिका हुनुपर्ने उनको भनाई थियो । ४० माईक्रोन भन्दा कम तौलका प्लाष्टिकका झोलालाई सरकारले प्रतिबन्ध लगाएको भन्दै उनले त्यस्ता झोलाको प्रयोग नगर्नपनि सबैलाई आग्रह गरे ।
वातावरण संरक्षण तथा पार्क सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ का अध्यक्ष चक्रपाणी सुवेदीले वृक्षारोपण गरिएको पार्कलाई हराभरा बनाएर हेर्न लायक बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष महेश पौडेलले वातावरण संरक्षणमा सबैको दायित्व उत्तिकै हुने भन्दै वृक्षारोपण गर्ने, रोपिएको संरक्षण गर्ने काममा सबै लाग्नुपर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







