जग्गा अधिग्रहण गरेको आधा शताब्दी पुग्न लाग्दापनि बनेन पोखरा बसपार्क

- वडाध्यक्ष मर्सानी भन्छन् : महानगरले नबनाए श्रमदान गरेर बनाउँछौं


     एभरेस्ट आवाज    
     असार २० गते २०८० मा प्रकाशित




पोखरा, असार २०

झण्डै आधा शताब्दी पुग्न लाग्दापनि पोखरा बसपार्क बनाउने पोखरेलीको सपना पूरा भएको छैन । आजभन्दा ४८ वर्षअघि १८ फागुन २०३२ सालमा बसपार्क बनाउन भनेर जग्गा अतिक्रमण गरिएको थियो । पूर्वमा सेती नदी, पश्चिममा सिद्धार्थ राजमार्ग, दक्षिणमा एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको जग्गामा बसपार्क बनाउने अधिग्रहण गरिएका जग्गा नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको थियो ।

यस बिचमा बसपार्क बनाउन पटक÷पटक विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बने । तर सबै प्रतिवेदन कार्यालयको दराजमा थन्कियो तर बसपार्क भने बनेन । बरु बसपार्कको भूमि भने अतिक्रमणको चपेटामा प¥यो । सोहि कारण बसपार्क बनाउन भनेर छुट्याइएको २०५ रोपनी क्षेत्रफल घटेर अहिले ८१ रोपनीमा खुम्चिएको छ ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्तित्वको उपत्यका नगर विकास समिति अहिले पोखरा महानगरपालिकाका मेयरकै नेतृत्वमा छ । बसपार्क बनाउन हरेक वर्ष न्यून भएपनि बजेट विनियोजन हुन्छ ।

तर छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्कोपनि भाँचिएको छैन । बरु चालु वर्षमा बसपार्क हिलाम्मे र धुलाम्मे भयोभन्दै अस्थायी ढलान गरियो । जसले स्थानियलाई केहि राहत त दियो तर त्यसरी अस्थायी ढलान गरेपछि स्थायी बसपार्क बन्ने सम्भावना भने कमजोर बन्दै गएको आभाष हुन्छ ।

उसो त गण्डकी प्रदेश सरकारलेपनि पोखरामा बसपार्क बनाउने कुरालाई कागजमा भएपनि सँधै जोड दिने गरेको छ । प्रदेशले खास गरेर पोखरा–३२ लामेआहालमा प्रदेश स्तरीय बसपार्क र पोखरा–९ पृथ्वीचोकमा नगर टर्मिनल बसपार्क बनाउने भन्दै बजेट वर्षेनी छुट्याउने गरेको छ । तर सो बजेट सँधै खर्च नभई फ्रिज भएर फर्किन्छ ।

बसपार्क बजेटको अभावमा नबनेको भने होईन । किनकी बसपार्क बनाउन महानगरले हरेक वर्ष बजेट छुट्याउँछ । उसो त बसपार्क बनाउनका लागि दशक अघिदेखि नै ७ करोड बढी रकम छुट्याएर बैंकमा डिपोजिट छ । अहिलेसम्म त्यसको ब्याज बढेर झण्डै १० करोड पुगेको छ ।

त्यसैले भन्न सक्छौं कि ‘बसपार्क ईच्छाशक्ति नभएर नबनेको हो ।’ यसमा राजनीतिक दलहरुकोपनि धेरथोर योगदान छ । किनकी बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केहि सुकुम्बासी हटाउनुपर्ने हुन्छ । जुन उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने दलहरुमा त्रास छ । यसमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अघि छन् ।

तर यतिबेला भने फेरी बसपार्क बनाउनुपर्ने आवाज उठ्न थालेको छ । यातायात व्यवसायीका नेता भानुभक्त बराल बसपार्क चाँडो बनाउनुपर्ने बताउँछन् । नेतृत्वमा ईच्छाशक्ति नहुँदा जग्गा र पैसा भएरपनि बसपार्क नबनेको भन्दै उनले भने,‘बसपार्कले अभिभावक पाएको छैन ।’

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे कुनैपनि शर्तमा बसपार्क बन्नुपर्ने बताउँछन् । पुरानै क्षेत्रफलमा बनाउन सम्भव नभए अहिले बाँकी रहेको क्षेत्रफलमा मात्रै भएपनि बसपार्क बनाउनुपर्ने बताउँदै उनले भने,‘बसपार्क कुनैपनि हालतमा बन्नुपर्छ । बरु बहुतले भवन बनाऔं ।’ पृथ्वीचोकमा बसपार्क नबन्ने हो भने पर्यटनमा नराम्ररी धक्का हान्ने उनले चेतावनी दिए ।

सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र कास्कीका कार्यवाहक अध्यक्ष कमलबहादुर श्रेष्ठ महानगरमा बसपार्क नहुनु विडम्वना भएको बताउँछन् । पोखराको लाईफलाईन हो बसपार्क,उनले भने,‘बसपार्क रहे यहाँका पर्यटन व्यवसाय रहन्छ नत्र व्यवसायपनि धरापमा पर्ने हो ।’

पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी भने बसपार्क चाँडै बन्ने दाबी गर्छन् । बसपार्क बन्छ र बन्नुपर्छ,उनले अगाडि भने,‘महानगरले बनाउन शुरु गरेन भने आन्दोलन गरौं ।’ उनले बसपार्क पोखराको शान भएको बताए । जसरी फेवाताल र पोखरा अन्र्तराष्ट्रिय विमानस्थल पोखराको शान हो त्यस्तै बसपार्कपनि भएको उनको भनाई छ ।

डिपीआरलाई देखाएर बसपार्क बन्न रोक्न नहुने उनले बताए । कतिवटा डिपीआर बनाउने ? उनले प्रश्न गर्दै भने,‘अबपनि विभिन्न बहाना बनाउने, बजेट नहाल्ने गरियो भने श्रमदान गरेर भएपनि बनाउँछौं ।’ वडाध्यक्ष मर्सानीले एयरपोर्ट बनाउनका लागि दवाब दिन रिले अनसन र थाल ठटाएजस्तै बसपार्क बनाउनपनि त्यस्तै गर्नुपर्नेमा उनले जोड दिए । भने,‘अबदेखि मेयरलाई जहाँ भेट्यो त्यहिं मेयरसाब ! हाम्रो बसपार्क कहिले बन्छ ? भनेर प्रश्न गरौं ।’

बसपार्क पोखराको लाईफलाईन भएकाले यसले समृद्धिमापनि सघाउने उनले बताए । ‘फेवाताल हेर्न पर्यटक जान्छ भने बसपार्क हेर्नपनि आउँछन् । तर हेर्न लायक बसपार्क त बनाउनु प¥यो नि !’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।