तनहुँ । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ ।
देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । गत वर्षभन्दा यो वर्ष आठ सय ११ वटा उद्योग कम दर्ता भएका उनले जानकारी दिए। आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा सबैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएका छन् । उक्त अवधिमा कृषि तथा वन पैदावरतर्फ तीन सय १८ उद्योग दर्ता भएका छन् ।
कृषि उद्योगतर्फ युवाहरुको आकर्षण बढेकाले यसतर्फ धेरै उद्योग दर्ता भएको उनको भनाइ छ । उनले भने, “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।
यो अवधिमा उत्पादनमूलकतर्फ ५०, कृषि तथा वन पैदावरतर्फ तीन सय १८, पर्यटनतर्फ एक सय १९, सेवातर्फ एक सय दश, पूर्वाधारतर्फ तीन र सूचना तथा सञ्चार प्रविधिमा आधारित तीन उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । तनहुँमा थपिएका उद्योगको कूल पूँजी रु एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रहेको छ । थपिएका उद्योगमा छ सय २८ जनाले रोजगारी पाएका छन् ।
गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए । त्यसमध्ये उत्पादनमूलक एक सय छ, कृषि तथा वन पैदावरमा आधारित आठ सय दश, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष ०७८÷७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष ०७६÷७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए ।
यसैगरी आर्थिक वर्ष २०७९÷८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् । त्यस्तै एक हजार ७२ नवीकरण, २५ नामसारी, छ ठाउँसारी, एक सय ६४ को पूँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएको कार्यालयले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







