साविक लेखनाथको आमा स्कुल लक्ष्मी आदर्शले शुरु गर्यो स्कुल बस


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित




पोखरा, साउन ३

साविक लेखनाथको आमा स्कुलका रुपमा परिचित लक्ष्मी आदर्श माध्यमिक विद्यालयले स्कुल बस सञ्चालन गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर–२७ अर्घौंचोकमा रहेको उक्त विद्यालयले स्थापनाको ५५ वर्षपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा बुधबारदेखि स्कुल बस सञ्चालन गरेको हो ।

२०२५ सालमा स्थापना भएको सो विद्यालयले हालसम्म स्कुल बस सञ्चालन गर्न सकेको थिएन । जसका कारण पोखरा–२७ र २८ को स्याङखुदीलगायतका क्षेत्रबाट आउने ग्रामिण ईलाकाका विद्यार्थीले शास्ती भोग्दै आउनु परेको थियो । तर गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र विद्यालयको संयुक्त लगानीमा बस सञ्चालनमा आएपछि ग्रामिण क्षेत्रका विद्यार्थी खुशी भएका छन् ।

बस सञ्चालनको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणी लामिछानेले स्कुल बस नहुँदा विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको शास्ती अबदेखि हट्ने विश्वास व्यक्त गरे ।

नेपाली र अंग्रेजी दुबै माध्यममा पढाई हुने सो विद्यालयमा हाल १२०० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।