काठमाण्डौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवद्र्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन् ।
उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उनले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताए ।
“कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट दिँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार हो ।” उनले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।
“अनुगमनलाई कसरी प्रभावकारी बनाउने, कालाबजारी र नक्कली वस्तुलाई नियन्त्रण गर्ने, उपभोक्ताले कसरी गुणस्तरीय वस्तु सहज ढङ्गले उचित मूल्यमा प्राप्त गर्ने विषयलाई केन्द्रमा राखेर काम गर्ने छौँ”, उनले भने ।
उद्योग, व्यवसाय क्षेत्रमा हुने अनियमितालाई ठीक ढङ्गबाट अनुगमन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले व्यवासयीले भोग्नुपरेका समस्या समाधान गरिने स्पष्ट पारे । “उद्योगी व्यवसायीका पनि केही समस्या छन्, त्यसलाई समाधान गर्न पनि आवश्यक छ”, उनले भने ।
गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे ।
उनले उपभोक्ता अधिकारलाई कुण्ठित गर्ने काम भइरहेको तथा सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिन उपभोक्ता अधिकारकर्मीसँग आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिको प्रतिफल आम जनतालाई प्राप्त हुने गरी सामाजिक न्याय स्थापित गर्न वर्तमान सरकारले सुशासनमा जोड दिइरहेको बताए । “सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेको छ । सुशासनबाट नै समृद्धिको लक्ष्यलाई साकार रुप दिन सकिन्छ”, उनले भने ।
अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गर्दै उनले राज्यलाई सुदृढ गराउन सरकारको ध्यान केन्द्रित भएको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





