नेपाल र चीनबीच कृषि सीप आदान–प्रदान हुने


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८० मा प्रकाशित




नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, हस्तानान्तरण तथा प्रवर्द्र्धन गरिने छ ।

यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यायलमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बीचमा भेटघाट एवं छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले जानकारी दिए । “एकअर्काको अनुसन्धानका बारेमा बुझ्दै कृषि क्षेत्रको विकासबारे छलफल गरेर गुणस्तरीय उत्पादन बढाउँदै जाने विषयमा समझदारी भएको छ”, उनले भने ।

सोही क्रममा सासका उपाध्यक्ष डा. लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधि सम्बन्धि तालिम प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली अनुसन्धानकर्तालाई चाँडै नै चीन लगेर मकै र सखरखण्डको उत्पादनका साथै प्रविधिको बारेमा तालिम दिइने उनले बताए । सासका उपाध्यक्ष डा. लेओको नेतृत्वमा टोली तीनदिने नेपाल भ्रमणमा आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।