गुट–उपगुट अन्त्य गर्दै एक ढिक्का भएर जाने कांग्रेस नेताहरुको जोड


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राखे ।

महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गरे । उनले भने, “नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ ।” मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भइसकेका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

पार्टी केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा र अर्जुननरसिंह केसीले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।