प्रतिनिधिसभाको बैठक भोली बस्ने


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८० मा प्रकाशित




काठमाडौ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ ।

बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेपनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा पर्नुभएको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

यसैगरी, कानुन, नयाय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम ती आयोगको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणलाई लिएर नेकपा (एमाले)ले सदनमा विरोध जारी राखेको छ । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार र आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।