मुख्यसचिव डा वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका छन् ।
बैँक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्सपोर्ट्स एशोसियशनले संयुक्तरूपमा आज आयोजना गरेको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ विषयक पुस्तक विमोचन कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निर्यातलाई बढावा दिनुपर्ने बताए ।
मुख्यसचिव डा अर्यालले मुलुकले निर्यातजन्य वस्तु विकासमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गरे । निर्यात बढाउनका लागि निर्यात घर स्थापना राम्रो काम भएको बताउँदै निर्यात घर स्थापनाका लागि सरकार लाग्ने स्पष्ट पारे । उनले विदेशमा निर्यात हुने वस्तुलाई स्वदेशी बजारमा समेत प्रयोग गर्नसके राम्रो हुने बताए ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने बताए । उनले निर्यातजन्य वस्तुमा गुणस्तरलाई ध्यान दिन आम व्यवसायीलाई आग्रहसमेत गरे ।
परराष्ट्र सचिव पौडेलले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रर्वद्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले समेत सहजीकरण गर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालमा उत्पादित वस्तुलाई विदेशसम्म निर्यात गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो हुने धारणा राखे । सरकारले विदेशमा निर्यात हुने वस्तुलाई पहिचान गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाललगायतले दिगो विकासको लक्ष्य पूरा गर्न नेपालको मौलिक उत्पादनलाई बढावा दिई विदेशमा निर्यात गर्नुपर्ने बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







