संसद् नियमित सञ्चालन हुनुपर्छ : सभापति लामिछाने


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८० मा प्रकाशित




फाइल तस्विर

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नियमित सञ्चालन हुनुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकाश ननिस्कने बताएका छन् ।

उनले भने, “पछिल्ला घटनाका विषयमा संसद्मा प्रर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्त बुझ्दो नभए निकास खोज्नुपर्छ ।” उनले सुन प्रकरणका विषयमा आवश्यकताका आधारमा उच्चस्तरीय छानबिन समिति र संसदीय समिति बनाउन सकिने बताए । रास्वपाले संसद्को बैठकमार्फत सरकारलाई प्रश्न गर्न चाहेको भन्दै उनले सबै कुरा संसद्मै छलफल हुनुपर्ने धारणा राखे ।

सुन काण्डमा मिलेमतो देखिए पनि कोकस्को मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ । सरकारका काम सुरुआतमा राम्रो भएको तर गतिविधिमा शङ्का उत्पन्न भएको भन्दै उनले मन्थन गर्ने, प्रश्न र जवाफ माग्ने र टेबल ठोक्ने ठाँउ संसद् मात्रै भएको बताए । सभापति लामिछानेले संसद्मा महत्त्वपूर्ण ऐनहरु अड्केर बसेको भन्दै जनजीविकाका सवालमा संसद्बाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता रहेको बताए ।

चितवन–२ का सांसदसमेत रहनुभएका लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा भोलि चितवनमा विशेष प्याकेजका कार्यक्रमको घोषणा हुने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै मोडलको रुपमा विकास गर्न लागेको भन्दै नागरिकलाई राहत दिने योजना ल्याइने जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।