प्रस्तावित राजदूतको सुनुवाइ सुरु


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित




सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ ।

समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ । समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गरेका छन । बैठकमा स्वीट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्नेछन ।

सरकारले परराष्ट्र सेवामा रहनुभएका सहसचिवलाई विभिन्न कूटनीतिक नियोगमा राजदूतका रूपमा सिफारिस गरेको थियो । राजदूत नियुक्तिमा समावेशी चरित्र नदेखिएको भन्दै समिति सदस्यहरूले आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग जानकारी लिएको थियो ।

समितिमा आफ्नो धारणा राख्दै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताए थिए । उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने र समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।

संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उनको भनाइ थियो । सरकारले परराष्ट्र सेवाका सहसचिव थापालाई (न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि), सुवेदी (स्वीट्जरल्यान्), भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीलाई (थाइल्यान्ड)का लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।