माओवादी केन्द्रीय समिति बैठक सुरु


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित




सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन । सम्बोधनका क्रममा उहाँले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो ।

सो उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष दाहालले अन्तिम रूप दिए । बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति बैठकमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकतासम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको एकताका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ । बैठक पाँच दिनसम्म चल्नेछ ।

केन्द्रीय समिति बैठक अगाडि आज बिहान माओवादीको पदाधिकारी र स्थायी समितिको बैठक बसेको थियो । बैठकले अध्यक्ष दाहालको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको थियो । यसअघि माओवादीको केन्द्रीय समिति बैठक एक वर्ष अगाडि गत असारमा बसेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।