लेखनाथचोक–सिसुवा–गगनगौंडासम्म र विरौटा–दोबिल्ला–पुँडीटारसम्म बाटो बन्ने


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित




पोखरा, साउन १७

विश्व बैंकको सहयोगमा पोखरामा थप दुई वटा सडक बन्ने भएको छ । संघ सरकारको सहरी विकास तथा पूर्वाधार विकास मन्त्रालयको समन्वय तथा विश्व बैंकको सहयोगमा लेखनाथको तालचोक–बेगनास सडक निर्माण कार्य भइरहँदा थप दुई वटा सडक निर्माणको प्रक्रिया शुरु भएको हो । विश्व बैंकले लेखनाथ चोकदेखि डाँडाकोनाक, सिसुवा, खुदीखोलाहुँदै गगनगौंडासम्म र विरौटाको तीनकुने चोकदेखि दोबिल्ला, भरतपोखरीहुँदै पुँडीटारसम्मको बाटो निर्माण गर्न लागेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

तालचोक–बेगनास सडक अनुमान गरिएभन्दा निकै कम मूल्यमा ठेक्का लागेपछि विश्व बैंकले थप दुई सडकमा लगानी गर्न ईच्छा देखाएको थियो । यसअघि नै पोखरामा सडक पूर्वाधार निर्माणका लागि विश्व बैंकले ३ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । उक्त रकमबाट तालचोक–बेगनास सडक ७५ करोड ४८ लाख ६७ हजार रुपैयाँमा ठेक्का लागेर निर्माण कार्य भईरहेको छ । बाँकी रकमबाट थप सडक बनाउन विश्व बैंकले प्रस्ताव गरेपछि पोखरा महानगरले लेखनाथचोक–गगनगौंडा र विरौटा–पुँडीटारको बाटो छनौट गरेको पोखरा महानगरपालिका प्रवक्ता पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए । महानगरले छनौट गरेको सडकलाई विश्व बैंकले स्वीकृत गरिसकेको उनको दाबी छ ।

महानगरले छनौट गरेको थप दुई वटा बाटोपनि तालचोक–बेगनासकै मापदण्डमा बन्ने जनाइएको छ । हाल बनिरहेको तालचोक–बेगनासको बाटो हरियालीसहित फुटपाथ, नाली, साईकल ट्रयाक र डिभाईडरसमेत ४ लेनको बनाईने छ । सम्झौतामा यस सडकको बीच भागमा डेढ मिटरको डिभाइडर, दुबै छेउमा साढे÷साढे दुई मिटर चौडाईको पार्किङ, दुबैतर्फ एक मिटर चौडाईको हरियाली क्षेत्र, दुबैतिर नालीमाथि दुई मिटरको फुटपाथ र सडकमा चार सेन्टिमिटर बाक्लो अस्फाल्ट पिच हुने उल्लेख छ । ‘अब बन्ने दुबै सडकपनि यहि मापदण्ड अनुसार बन्नेछ’–मेयर आचार्यले भने । उनका अनुसार लेखनाथचोक–गगनगौंडाको बाटो करीब १ अर्बको लागतमा बन्नेछ भने विरौटा–पुँडीटारको बाटो डेढ अर्बको लागतमा बन्नेछ ।

बाटो निर्माणका लागि लेखनाथको तालचोक–बेगनासको बाटो निर्माण गरिरहेको स्वच्छन्द–सपना–वल्र्डवाईड जेबीलाई नै कन्सल्टेन्टका रुपमा नियुक्त गरिएको जनाइएको छ । यी दुबै बाटो साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरि समयअवधी तोकिएको मेयर आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाका सिनियर ईञ्जिनियर रामचन्द्र घिमिरेले सडक निर्माणको प्रक्रिया शुरु भएको बताए । उनका अनुसार विरौटा–पुँडीटार सडक खण्डको सर्भे गर्ने काम सकिएको छ भने लेखनाथचोक–गगनगौंडाको बाटोको सर्भे दुई÷तीन दिनमा शुरु हुनेछ । ‘विरौटा–पुँडीटार सडक खण्डको सर्भे सकियो अब डिजाईन मात्र बाँकी छ । लेखनाथचोक–गगनगौंडा सडक खण्डकोचाहिं दुई÷तीन दिनमै सर्भे शुरु हुन्छ’–उनले भने ।

दुबै सडकको प्रक्रिया बिना अवरोध अगाडि बढे अबको २÷३ महिनामा टेण्डर आह्वान हुनेछ । टेण्डर आह्वानको अवधी करीब ४ महिनाको हुने र कम्पनी छनौट गरेपछि ठेक्का सम्झौता गरेर काम शुरु गर्दा ७÷८ महिना लाग्नसक्ने घिमिरेले बताए । ‘सडक निर्माणको प्रक्रिया त शुरु भईसक्यो तर निर्माण कार्यको थालनी नै हुनचाहिं केहि समय लाग्ला’–उनले भने । उनले सडक निर्माणका सरोकारवाला पोखरा महानगरपालिका, सहरी विकास मन्त्रालय र विश्व बैंक अर्थात तीनवटै पक्ष सकारात्मक रहेकाले काममा अवरोध नआउने दाबी गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।