काठमाडौ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ ।
आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए ।
“सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ”, उनले भने, “दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।” उनले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताए ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे ।
उनले जनतासमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गरेका थिए । अध्यक्ष तिमिस्लिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







