पोखरा, साउन २२
पोखरा–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल (सेरवाल) गएराती भत्किएको छ । पोखरा महानगरपालिका र पोखरा महानगरपालिका वडा नम्बर–९ को सहयोगमा बनेको सेरवाल गएराती आएको भारी वर्षाका कारण भत्किएको हो । करीब ३७ लाखको लागतमा ६० मिटर लम्बाई र २० मिटर उचाईको सेरवालको दुईतिहाई भाग भत्किएर सेती नदीको डिलमा पुगेको छ । साँझ करीब ८ः३० बजे ठूलो आवाजसहित सेरवाल भत्किएको महेन्द्रपुल–साँघुमुख उपभोक्ता समितिका अध्यक्ष रोसन महर्जनले बताए ।

सेती नदीको डिलमा पार्क निर्माण गर्न लागिएको र त्यसभन्दा माथिल्लो भाग भिरालो भएकाले सेरवाल बनाएर सुरक्षित गर्न सेरवाल निर्माण गरिएको थियो । एक हप्ताअघि मात्र निर्माण सम्पन्न भएको शेरवालको माथिल्लो भागमा माटो भरेर त्यसै छाडिएको थियो । निरन्तर पानी परेपछि सो माटोको भार थेग्न नसकेर सेरवाल भत्किएको हुनसक्ने अनुमान गरिएको छ । किनकी ४÷५ ईञ्चको ८ वटा रड राखेर पिलर बनाउनुका साथै त्यसमा ३ ईञ्चको रड राखेर ढलान गरिएको सेरवाल बलियो मानिन्छ ।
सो सेरवाल महेन्द्रपुल–साँघुमुख उपभोक्ता समितिमार्फत बनेको थियो । मानन्धर निर्माण सेवालाई सेरवाल निर्माण गर्ने जिम्मा दिएपनि निर्माणको गुणस्तर, रडको आकार, सिमेन्टको मात्रालगायतबारे समिति आफैले निर्धारण गर्ने र निगरानी राख्ने गरेको थियो । त्यसैले सेरवाल निर्माणमा कुनै कमजोरी नरहेको समितिका अध्यक्ष रोसन महर्जनले दाबी गरे । ‘हामीले राम्रै काम गरेका थियौं । निर्माणमा कुनै कमजोरी थिएन । भारी वर्षाका कारण विपद आईप¥यो’–उनले भने ।
निर्माणको जिम्मा पाएको मानन्धर निर्माण सेवाका सञ्चालक भरत मानन्धरलेपनि काम गर्दा कुनै कमजोरी नराखी गरेको दाबी गरे । ‘हामीले सबै मापदण्ड पूरा गरेर बनाएका हौं तर निरन्तरको वर्षाले माटो भिज्दा त्यसको भार धान्न नसकेर सेरवाल भत्कियो । विपदको अगाडि कसैको केहि लाग्दो रहेनछ’–उनले भने ।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बलियो सेरवाल भत्किदा आफू आश्चर्यमा परेको बताए । सायद विपद भनेको यहि होला,उनले भने,‘मानवीय कमजोरी वा प्राविधिक समस्या देखिदैन ।’ उनले चाँडै पुनः सेरवाल निर्माण गरिने बताए ।
तर सेरवालको माथिल्लो भागमा भरेको माटोमाथि ढलान गरेको भए यस्तो क्षेती हुँदैनथियो कि भन्ने उपभोक्ता समितिका अध्यक्ष रोसन महर्जनलाई छ । ‘ढलान गरेको भए पानीलेपनि गल्दैनथ्यो माटो । अनि कम्प्याक्टपनि हुन्थ्यो, जसले गर्दा विपत्तीबाट जोगिन्थ्यो कि ?’–उनले भने । बजेट अभावमा यस वर्ष ढलान गर्न नसकिएको तर योजनामा भने राखिएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







