नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : नेता डा कोइराला


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०८० मा प्रकाशित




साउन २७ काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन् ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे । “नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन”, उनले भने, “पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदैछ ।”

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पछिल्लो समय सार्वजनिक प्रशासनमा जनताप्रतिको विश्वास खस्कँदै गएको बताए । “सुशासनको बाधक भ्रष्टाचार हो, भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा सुशासन कायम हुन सक्दैन, मुलुकमा सुशासन कायम गर्न उच्च तहका व्यक्ति लाग्नुपर्छ”, उनले भने ।

पूर्वमुख्यसचिव पौड्यालले अहिले नेपाल सामाजिक, आर्थिक, राजनीतिक समस्याको भुमरीमा परेको बताए । मुलुकमा सुशासन निर्माण गर्नका लागि राजनीतिक उच्च तहको व्यक्ति सप्रिनुपर्ने उनको भनाइ थियो । सुशील कोइराला भ्रष्टाचारविरोधी र नेपाली राजनीतिका श्रद्धा गर्न लायक नेता भएको उनको भनाइ थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।