आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान रद्द


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०८० मा प्रकाशित




काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।