एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८० मा प्रकाशित




साउन २९ काठमाण्डौं । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।

पार्टीले गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेश असोज २१ र २२ गते अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन स्थानीय तहबाट हुने र अधिवेशनका लागि ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले पार्टीले युवाको सहभागितालाई तल्लो तहबाट नै विस्तार गर्ने योजनाअनुसार नै प्रतिशत छुट्टाइको बैठकले निर्णय गरेको बताए । उनका अनुसार वडा र टोलमा ४० वर्ष मुनिका एक तिहाइ युवाहरु अनिवार्य र पालिका तहमा न्यूनतम २० प्रतिशत युवा, जिल्लामा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत युवालाई सहभागिता गराउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी सदस्यमा छक्कबहादुर लामा र केदार न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका शङ्करदत्त जोशी र बागमती प्रदेशका सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनित गर्ने निर्णय गरेको छ । सङ्गठन विभागको सचिवमा माधव ढुङ्गेललाई मनोनित गर्ने निर्णय गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।