पोखरा, भदौ ३
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको बैठकले जिल्ला ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
कमजोर माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । सोहि अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका ईञ्चार्ज तथा पार्टीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
वर्षौंदेखि एकै व्यक्ति एउटै जिल्लामा रहँदा पार्टीमा गुट उपगुट मौलाएको र सोहि कारण नेता कार्यकर्तामा उत्साह आउन नसकेको भन्दै कार्यकर्ताले गुनासो गर्ने गरेका थिए । सोहि गुनासोलाई मध्यनजर गर्दै माओवादी गण्डकीले जिल्ला ईञ्चार्ज फेर्ने निर्णय गरेको श्रोतले बताएको छ ।
नेकपा माओवादी केन्द्रले कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङलाई स्याङ्जा जिल्ला ईञ्चार्ज तोकेको छ । लामो समयदेखि कास्की पार्टीको ईञ्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य उनलाई स्याङ्जा पठाएपछि उनको ठाउँमा पर्वतका नेत्रनाथ अधिकारीलाई ल्याइएको छ । अधिकारी गण्डकी प्रदेशका पूर्व सभामुख तथा पार्टीका केन्द्रीय सदस्य हुन् । पार्टीका पोखरा महानगरपालिका ईञ्चार्ज दीपक कोईरालालाई माओवादीले गोरखा जिल्ला ईञ्चार्ज बनाएर पठाएको छ ।
माओवादीले बागलुङकी बलावती शर्मालाई पर्वत जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ भने स्याङ्जा जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरेलाई तनहुँ जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ । माओवादीले तनहुँकी आशा खनाललाई लमजुङ जिल्ला ईञ्चार्ज, पर्वतका गुप्तबहादुर हमाललाई म्याग्दी जिल्ला ईञ्चार्ज बनाएको छ । यसैगरी, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा कास्कीका अमर तमु, बागलुङान गोविन्द पौडेल, र मुस्ताङमा कपिल लामालाई माओवादीले जिल्ला ईञ्चार्ज बनाएको छ । माओवादीले प्रत्येक जिल्ला ईञ्चार्जलाई सो जिल्लाको कुने एउटा पालिकाको ईञ्जार्जको जिम्मेवारीपनि सुम्पेको छ ।
बैठकले प्रदेशका सबै जिल्ला हेर्ने जिम्मेवारी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेललाई तोकेको छ भने केन्द्रीय सदस्य यशोदा सुवेदीलाई नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला तथा हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जा जिल्ला हेर्ने जिम्मेवारी दिएको छ । त्यसैगरेर प्रदेश अध्यक्ष गायत्री गुरुङलाई जातीय मोर्चाको जिम्मेवारी तोकेको छ भने अटिन्द्र केशरी न्यौपानेलाई कार्यालयसँगै प्रेस सेन्टर गण्डकीको फ्रयाक्सन ईञ्चार्ज तोकेको जनाइएको छ ।
माओवादीले जिल्ला ईञ्चार्जसँगै प्रदेशका सबै पालिका तथा वडाहरुको ईञ्जार्चको जिम्मेवारीपनि हेरफेर गरेको छ । जस अनुसार कास्कीको पोखरा महानगरपालिकाको ईञ्चार्ज स्याङ्जा जिल्ला ईञ्चार्ज पारसमणी पौडेललाई दिइएको छ । अन्नपूर्ण गाउँपालिका इन्चार्जमा परशुराम रम्तेल, मादी गाउँपालिकामा धना तमु र रुपा गाउँपालिकामा सतिमाया गुरुङलाई ईञ्चार्ज तोकिएको प्रदेश ईञ्चार्ज पौडेलले जानकारी दिए । कास्कीकै माछापुच्छ«े गाउँपालिका इन्चार्जको जिम्मेवारी भने कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीलाई नै तोकिएको उनले बताए ।
माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड वडासम्मै पुग्ने योजना अन्तर्गत उनी बारपाक सुलिकोट वडा नं. ८ मा आउने भएका हुन् । प्रचण्ड पुग्ने वडा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा हो । माओवादीले प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिएर फिल्डमा खटाउने निर्णय गरेको प्रदेश ईञ्चार्ज पौडेलले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले पार्टी पुर्नगठन गरेरै छाड्ने उद्घोष गरेका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ईञ्चार्ज पौडेलले माओवादी केन्द्रलाई गण्डकीमा २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका हुन् । ‘पार्टी कहिले सानो हुन्छ त कहिले ठूलो । हिजोको ठूलो पार्टीहरु कांग्रेस, एमाले २०६४ सालमा खुम्चिदा हामी माओवादी ठूलो भयौं । २०७९ मा आईपुग्दा खुम्चिएको कांग्रेस फेरी ठूलो भएको छ, त्यसैले यो उतारचढाव भइरहन्छ तर हामी पार्टीलाई पुर्नगठन गरेरै छाड्छौं । पार्टी पुर्नगठन हुन्छ ।’
ईञ्चार्ज पौडेलले पार्टीमा भर्खरै प्रचण्डको उत्तराधिकारी खोज्ने बेला नभएको बताए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सकृय राजनीति गरिरहेकाले उत्तराधिकारी आवश्यक नरहेको उनको भनाई थियो । तर पार्टी नेतृत्व गर्न सक्षम नेताहरु पार्टीको पदाधिकारीमा रहेको उनले दाबी गरे । ‘नेतृत्व गर्न सक्षम नेताहरु पार्टीको पदाधिकारी लेबलमा हुनुहुन्छ तर अहिल्यै उत्तराधिकारी घोषणा गरिहाल्ने बेला भएको छैन’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







