एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८० मा प्रकाशित




भदौ ९ सिरहा । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।

उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली विराटनगर पुगेका थिए । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भने ।

एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो ।

सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।