पोखरा, भदौ १६
नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत पोखरा–२० मा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताएका हुन् । विगतमा गल्ती कमजोरी भएकै हो,उनले भने,‘पार्टी अलमलमा परेकै हो, अलिअलि हामी नेतृत्व बिग्रिएकै हौं । हुँदाहुँदा दुई तिहाईको जनमत र सरकार जोगाउन सकेनौं । यी सबै कमजोरी स्वीकार्छौं र अब आगामी दिनमा यसलाई नदोहो¥याउने वाचासहित सच्चिने प्रण गर्छौं ।’
पूर्व शिक्षा मन्त्रीसमेत बनेका माओवादी नेता पौडेलले यो अभियान पार्टी र नेता, कार्यकर्ता रुपान्तरणको अभियानपनि भएको बताए । हिजो हामी बिग्रिएकाले जनतासँग माफी माग्ने हो,उनले भने,‘यो अभियानसँगै मपनि रुपान्तरण हुने हो । अनि हरेक नेता कार्यकर्ता सबै रुपान्तरण हुने हो ।’ उनले जनतामा जाँदा पार्टी र नेतृत्वको आलोचना भए वचन नफर्काई आलोचना सुन्न कार्यकर्तालाई निर्देशन दिए । अभियानका क्रममा जनताको घरदैलोमा जाँदा फरक पार्टी समर्थितको घरमा पनि जान उनले आग्रह गरे । ‘तपाईंहरु छानीछानी माओवादीकोमा मात्र नजानुहोला । कांग्रेस, एमाले वा अन्य कुनै पार्टी समर्थितको घर भएपनि गएर उहाँहरुको कुरा सुनिदिनुहोला । गाली नै गरेपनि सहेर सुनिदिनुहोला ।’
माओवादी सचिव पौडेलले माओवादीलाई लगाइएको भ्रमपूर्ण आरोपलाई भने खारेज गर्न कार्यकर्तालाई निर्देशन दिए । हामीमाथि मन्दिर भत्काउने, मान्छे मार्ने, धन सम्पती लुट्ने भनेर मिथ्या आरोप लगाइएको छ,उनले भने,‘यो दुस्प्रचारको खण्डन गर्दै आरोपलाई खारेज गर्नुहोला । हामी त देश र जनताको पक्षमा, परिवर्तनको पक्षमा लड्ने योद्धा हौं भनेर बुझाउनुहोला ।’ उनले वलिदान दिएर परिवर्तन आएको तथा दलित, जनजाति, महिला, मधेशी, अल्पसंख्यकलगायतको अधिकारपनि प्राप्त भएको बताए ।
नेकपा माओवादी केन्द्र–पोखरा ११ र २० का ईञ्चार्ज जीवन खातीले जनतासँग टुटेको सम्बन्ध जोड्नका लागि अभियान सफल हुने विश्वास व्यक्त गरे । दलित, जनजाति, महिला, मधेशी, अल्पसंख्यकलगायतको अधिकार स्थापित गर्ने माओवादी भएपनि अहिले अरुले त्यसको जस लिने दुस्प्रयास गरिरहेको आरोप लगाए । ‘अधिकार दिलाउने माओवादी हो तर त्यहि माओवादीबिरुद्ध धावा बोल्ने काम भईरहेको छ । त्यसबिरुद्ध जेहाद छेड्न अभियान सफल हुनेछ’–उनले भने ।
जनयुद्ध लडेका रामबहादुर अधिकारीले पार्टीले कार्यकर्ता नचिन्दा निराशा छाएपनि अभियानपछि कार्यकर्तामा उत्साह छाउने विश्वास व्यक्त गरे । उनले सहिद, वेपत्ता तथा घाइतेहरुको त्याग र वलिदानको बदला जनतालाई विकास र समृद्धि दिएर खुशी बनाउन आग्रह गरे ।
पुराना माओवादी नेता तथा बुद्धिजिवी परिषदका नेता रामप्रसाद पौडेलले अभियानले पार्टीमा रक्तसञ्चार गर्ने विश्वास व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र पोखरा–२० का अध्यक्ष लक्ष्मण खत्रीले नेताहरु जनतामा पुगेमात्रपनि पार्टीमा माहोल सिर्जना गर्न हुने बताए ।
कार्यक्रममा विभिन्न ७ वटा टोल समिति घोषणा गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





