पोखरा, भदौ १८
पोखरामा झण्डै अढाई दशकपछि वर्षपछि बाघ जात्रा शुरु भएको छ । जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा तेईस वर्षपछि सोमबारदेखि बाघ जात्रा शुरु भएको हो । नेवाः खल कास्कीको आह्वान तथा बाघ जात्रा तयारी समितिको आयोजनामा भएको बाघ जात्राको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दियो प्रज्वलन गरेर उद्घाटन गरेपछि शुरु गरिएको थियो ।

बाघ जाको पहिलो दिन नेवा छेँबाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा पुगेर समापन हुनेछ । दोश्रो दिन नेवा छेँ भवनबाटै शुरु भई गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौरहुँदै सृजनाचोक पुगेर सभागृहचोक, पृथ्वीचोक, नयाबजार, महेन्द्रपुल, तेर्सापट्टी, नालामुखचोक हुँदै नेवाः छेँ मै फर्किउर समापन हुनेछ ।

जात्राको तेश्रो तथा अन्तिम दिन बाघ मार्ने गरिन्छ । जुन जात्राको मुख्य आकर्षणका रुपमा रहने गरेको बाघ जात्रा तयारी समितिका सचिव सुनिल उलकले जानकारी दिए । सँधै झैँ नेवाः छेँबाट जात्रा शुरु भएर नालामुखचोक, तेर्सापट्टी, महेन्द्रपुलहुँदै रानीपौवा, माटेपानी, गौंडाको मुख, राधाकृष्णचोकहुँदै पोखरा रंशाला पुगेर मनोरञ्जनात्मक कार्यक्रम हुने उनले बताए । उनका अनुसार रंगशालामै बाघ मार्नेसहित नाचगानका कार्यक्रम हुनेछन् र जात्रा समापन हुनेछ ।

बाघ जात्रा पोखराको सबैभन्दा पुरानो जात्रा हो । करीब एक सय वर्षअघि शुरु भएको यो जात्रा २०५७ सालमा भएपछि पोखरामा प्रदर्शन हुन सकेको थिएन । बाघ जात्रामा प्राय सबै जात्राहरुको संयोजन हुने बाघ जात्रा तयारी समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाघ जात्राको सबैभन्दा अग्रभागमा कुमारी राखिन्छ र त्यसपछि तायाःमचा, धिमेबाजा, घोडानाच हुनेछन् भने त्यसलगत्तै राजारानी, प्रधानमन्त्री र सेनापतीसहित जनता साथमा हुनेछन् । राजारानी र प्रधानमन्त्रीको दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु हुन्छन् ।
बाघ जात्राको प्रमुख आर्षणका रुपमा बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेकेग्वाराहरु हुन्छन् । जात्रालाई जीवन्त बनाउनका लागि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरी परिचालन गरिएको छ ।
प्राय सबै जात्राको नाच समावेश यस बाघ जात्राको विशेष आकर्षणका रुपमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रापनि हो । बाघ जात्रामा भक्तपुर वडा नं ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोलि सहभागि रहेको तयारी समितिका सचिव सुनिल उलकले जानकारी दिए । तर यो टोली मंगलबारदेखि मात्रै समावेश हुने उनले बताए ।
संस्कृतिको संरक्षण गर्न बाघ जात्रा निकालिएको तयारी समितिका अध्यक्ष सुनिल उलकले जानकारी दिए । उनका अनुसार जंगली हिंस्रक जनावर बाघले शहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाईसमेत आक्रमण गरेर मार्न थालेपछि जनताद्वारा राजालाई नरभक्षी बाघ मारिदिन अनुरोध गरिए अनुसार राजाले आफ्नो सम्पूर्ण राज्यशक्तिका रुपमा प्रधानमन्त्री, सेना प्रमुख, सेना, शिकारीहरु, जनताहरु तथा स्वयं राजा नै उपस्थित भएर राजाले चारैतिरबाट घेरिएर रहेको बाघलाई बन्दुक हानेर मार्ने कार्य गरिएको ऐतिहासिक पक्षलाई उजागर गर्न बाघ जात्रा मनाउन थालिएको किम्वदन्ती रहेको उनले बताए । जात्राको सन्देश बाघ मार्नुपर्छ भन्ने नरहेको उनको भनाई छ । ‘नरभक्षी बाघचाहिं मारेर त्रसित जनतालाई मुक्ति दिलाउने यसको सन्देश हो’–उनले भने । जात्रामार्फत गलत उद्देश्य वा गलत कार्यलाई सबै मिलेर परास्त गर्नु पर्दछ भन्ने सन्देशपनि दिने उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






