नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०८० मा प्रकाशित




काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा नेपाल र भारतबीचको खेलमा ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। 

भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।

कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए।

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए। उनले आसिफ शेखसँग पाँचौ विकेटका लागि  ३१ रनको साझेदारी गरे।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी भयो। दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूको धरापमा पर्नुअघि २५ बलमा ३ चौकाको मद्दतमा २९ रनको योगदान गरे।

आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे। मोहमद सामीको बलमा ४७.२ ओभरमा आउट हुनुअघि उनले ४८ रन जोडे। सोमपालले ५६ बलमा १ चौका र २ छक्का हिर्काए। 

लगत्तै सन्दीप लामिछाने ९ रनमा रनआउट भएका थिए भने अन्तिम विकेटको रुपमा ललित राजवंशी शून्यमा आउट भए।

बलिङमा भारतका जडेजा र मोहमद सिराजले ३-३ विकेट लिए।

खेलमा जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। वर्षाले खेल रद्द भए नेपाल आउट हुँदा भारत सुपर फोरमा पुग्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।