गल्ती गर्ने एक जना पनि नउम्कियोस्, निर्दोष कोही नफसोस् : उपमहासचिव पुन


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८० मा प्रकाशित




भदौ १९ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार र वेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन् ।

उनले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसा गरे । सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । उनले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरूका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट पारे ।

“बेथिति विरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन भने नछुटुन”, पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज यहाँ गरेको कार्यक्रममा उपमहासचिव पुनले भने, “सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्यशक्तिको दुरूपयोग गर्ने काम भयो भने भ्रष्टाचारविरोधी अभियान सफल हुन सक्दैन । त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस्, निर्दोेष कोही नफसोस् ।”

नेता पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरका सबैमाथि अपराधी झैँ गरी सामाजिक चरित्रहत्या गर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेर गएकामा चिन्ता व्यक्त गरे । दलका नेता, कर्मचारी, चित्किसक, इञ्जिनियर, व्यवसायीमध्ये केहीले गल्ती गर्दैमा वा आरोप लाग्दैमा ती कर्ममा संलग्न सबै खराब हुन् भन्ने मनोविज्ञान समाजमा हाबी हुन खोजेकामा आपत्ति प्रकट गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।