आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभर सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८० मा प्रकाशित




आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।

मिथिलाक्षेत्रमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो ।

द्वापर युगमा मथुरा कारागारमा भदौ कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म माता देवकीको कोखबाट भएको थियो । श्रीकृष्ण हिन्दू परम्पराका आराध्यदेव श्रीविष्णुका १० मुख्य अवतारमध्येका आठौँ मानिनुहुन्छ । यो मान्यताले भदौ कृष्ण अष्टमीका दिन उल्लासमय वातावरणमा श्रीकृष्ण जन्मोत्सव मनाउने मैथिल परम्परा छ ।

श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि टेकिनासाथ (सुरु भएपछि) व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मनुभएको मान्यताअनुसार मङ्गलगान गर्दै व्रत समापन गर्ने परम्परा छ । पर्वमा बस्तीपिच्छेजस्तो स्थापित गरिएका श्रीकृष्ण प्रतिमामा अष्टमीको मध्यरात भएपछि आँखा खोलेर (माटाका मूर्तिमा आँखा कोट्याएर खोल्ने) जन्मोत्सव मनाइने चलन रहेको जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय बताउछन ।

जन्मोत्सवमा श्रीकृष्ण जन्मलीला नाटक प्रस्तुत गर्ने चलन छ । मथुरा (हाल भारतको उत्तरप्रदेशमा पर्ने प्रसिद्ध नगर) कारागारमा रहेका वासुदेव÷देवकीका आठौँ सन्तान मानिने श्रीकृष्ण जन्मनासाथ सबै सुरक्षाकर्मी लट्टिएर सुतेका र सो बेला सबै द्वार आफैँ खुलेका श्रीमद्भागवतमा वर्णन छ । मथुराका तत्कालीन राजा कंशको प्रहारबाट बचाउन राति नै वासुदेवले श्रीकृष्णलाई बोकेर गोकुल बस्तीका ग्वालराज नन्दकी रानी यशोदाको काखमा राखी दिएर त्यहाँ जन्मिएकी कन्या लिएर कारागार फर्केका शास्त्रीय कथा भन्ने, सुन्ने गरिन्छ ।

श्रीकृष्ण हिन्दू परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिनुहुन्छ । दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्द्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन् । मिथिलामा श्रीकृष्ण जन्माष्टमी मेला (जात्र) परम्परा छ । पर्व माटाका मूर्ति बनाउने पेसाका कुम्हाल र त्यो सीपका सर्वसाधारणका लागि आर्जनको अवसर पनि रहँदै आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।